राजनीति

नाउपालाई एकता र सुधारको बाटोमा अघि बढाउने अध्यक्ष श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम रहने भएको छ। एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरी निर्वाचन आयोगमा अद्यावधिकका लागि दिएको निवेदन आयोगले अस्वीकृत गरेपछि श्रेष्ठ पुनः औपचारिक रूपमा अध्यक्षको जिम्मेवारीमा रहन पाएकी हुन्।

निर्णयपछि श्रेष्ठले यसलाई “जिम्मेवारीपूर्वक ग्रहण” गरेको बताइन्। संस्थापक अध्यक्षको हैसियतमा उनले पार्टीलाई विधि, विधान र नियमको मार्गदर्शनमा अघि बढाउने प्रतिबद्धता जनाइन्। श्रेष्ठका अनुसार अबको मुख्य लक्ष्य आन्तरिक मतभेदभन्दा माथि उठेर एकता र जनताको मुद्दामा केन्द्रित हुनु हो। उनले संगठनलाई विधिको बाटोमा अघि बढाउने अवसरका रूपमा आयोगको निर्णयलाई लिएको बताइन्। कारबाहीका विषयमा उनले व्यक्तिगत रिस–ईर्ष्या नभई पार्टीको हित र अनुशासनलाई मात्र आधार बनाइने स्पष्ट गरिन्।

श्रेष्ठले पारिवारिक सम्बन्ध र राजनीतिक जीवनलाई अलग राख्ने अठोट व्यक्त गर्दै, “पार्टीभित्र सबै बराबरीका सदस्य हुन्, चाहे उनीहरू आफन्त हुन् वा नहुन्,” भनिन्। उनका अनुसार, प्रतिपक्षमा बस्ने निर्णय २२ गते साँझ बानेश्वरमा संसदीय दलका नेता गंगाराम चौधरीले बोलाएको बैठकमा, पार्टीका संरक्षक रेशम चौधरीको सल्लाहअनुसार लिइएको हो। उनले संसदीय दलको निर्णय संसदभित्र वैधानिक मान्यता पाउने प्रावधान रहेको पनि स्मरण गराइन्।

श्रेष्ठले पार्टी सञ्चालनमा सहकार्य, जिम्मेवारी बाँडफाँट र सामूहिक नेतृत्वलाई निरन्तर प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै, आन्तरिक विवाद समाधानका लागि सबै सदस्यसँग सहमतिपूर्ण संवाद जारी राख्ने बताइन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *