देश

कांग्रेस नेतृत्वद्वारा सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले लामो समयदेखि महाधिवेशन गर्न नसकेका सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिसँग सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेका छन्।

छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मा सहभागी छन्। कांग्रेसले भ्रातृसंस्थाको महाधिवेशन सम्पन्न गराउन केन्द्रीय सदस्यहरूलाई संयोजक र सदस्य बनाएर महाधिवेशन निर्देशन समिति गठन गरेको हो।

महाधिवेशन गर्न बाँकी रहेका भ्रातृसंस्था हुन्— नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल थारू संघ र नेपाल किसान महासंघ। यी संस्थाले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन सम्पन्न गर्न सकेका छैनन्।

निर्देशन समितिका संयोजकहरूमा तरुण दल सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघ सहमहामन्त्री किशोरसिंह राठोर, महिला संघ प्रवक्ता डा। प्रकाशशरण महत, नेपाल दलित संघ सहमहामन्त्री जीवन परियार, नेपाल किसान महासंघ केन्द्रीय सदस्य रमेश रिजाल, लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र थारू संघ केन्द्रीय सदस्य उदयशम्शेर राणा छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिले गत असारमा बसेको बैठकमार्फत अन्तिम पटकका लागि म्याद थप्दै महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई सम्पूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो। आजको छलफलपछि निर्देशन समितिलाई कार्यादेशको पत्र प्रदान गर्ने तयारी कांग्रेसले गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *