राजनीति

असार २३ मै खनालले अध्यक्ष नेपाललाई भनेका थिए , राजीनामा दिएर स्वतन्त्र रूपमा कानूनी लडाइँ लड्नुस्

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्षबाट राजीनामा दिन लिखित सुझाव दिएका थिए।

गत असार २३ गते चीन प्रस्थान गर्नु पूर्व खनालले नेपाललाई पठाएको उक्त गोप्य लिखित सुझाव पार्टीले सार्वजनिक नगरेको भए पनि, हाल खनालको सचिवालयले पूर्णपाठ सार्वजनिक गरेको छ।

पत्रमा खनालले लेखेका छन :

अध्यक्ष पदबाट मुक्त भएर वा नैतिकता देखाएर राजीनामा दिनु,

कानुनविद् तथा बुद्धिजीवीहरूसँग गम्भीर छलफल गरेर कानूनी पक्ष मजबुत पार्नु,

पार्टीको हैसियतमा नभई व्यक्तिगत रूपमा कानूनी प्रक्रियामा सामेल हुनु,

कार्यकारी पदमा रहिरहँदा नैतिकताको प्रश्न बढ्ने भएकाले स्वेच्छिक निर्णय लिनु,

स्वतन्त्र भएर लड्दा न्यायालयको दृष्टिकोण सकारात्मक हुने सम्भावना बढ्ने।

खनालले स्पष्ट पारेका छन् कि यो मुद्दा नेपाल व्यक्तिगत रूपमा सामना गर्नुपर्ने हो, पार्टीले सिङ्गो रूपमा बोकेर जाने विषय होइन। “अध्यक्ष पदमा रहँदा नैतिकताको प्रश्न निरन्तर उठिरहने भएकाले स्वयंले उचित निर्णय लिनु उपयुक्त हुन्छ,” पत्रमा उल्लेख छ। उनले शुभकामना दिँदै भनेका छन्—“कानूनी प्रक्रियामा पूर्ण रूपमा सहभागी भई अदालतमा आफ्नो निर्दोषिता प्रमाणित गर्नुहोस्, यही तपाईंको हितमा हुनेछ।”

सुझावको पूर्णपाठ
१.कमरेड माधवकुमार नेपालले आफैं नबिराउनु, नडराउनु भनिसकेको अवस्थामा उहाँले गल्ती गर्नुभएको छैन भने किन डराउने ? उहाँले
साथ पार्टीको अध्यक्ष पदबाट मुक्त भएर वा नैतिकता देखाएर राजीनामा दिएर, कानुनविद, बुद्धिजीवीहरुसँग गम्भीरताका
साथ भेटवार्ता र छलफल गरी आफ्नो मुद्दालाई दह्रो बनाउनतिर लाग्नुपर्छ।

२. उहाँ अध्यक्ष पदमा रहिरहनुभयो भने बाहिर(भित्र उहाँको नैतिकताको प्रश्न उठिरहन्छ । यसले गर्दा वा स्वयंलाई र पार्टीका कार्यकर्तालाई यस प्रश्नको उत्तर दिनका लागि गाह्रो पर्नसक्छ । नैतिकताको प्रश्न उठिसके पछाडि अरुले दबाब दिनुभन्दा स्वयं आफूले उचित निर्णय लिनु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यो मुद्दा कमरेड माधवकुमार नेपाललाई लागेको मुद्दा हो, पार्टीलाई लागेको मुद्दा होइन । त्यसकारण हामी आफ्नो व्यक्तिगत ढंगले र कानूनी रूपले उहाँलाई सहयोग गर्छौं, तर सिङ्गो पार्टीले उहाँको मुद्दा बोक्नसक्दैन ।

३. मुद्दा लागिसकेको कोही व्यक्ति फेरि पनि कार्यकारी पदमा बसिरहन्छन भने न्यायालयलयले हेर्ने दृष्टिकोण पनि नकारात्मक हुनसक्छ । स्वतन्त्र भएर कानूनी लडाई लड्ने हो भने न्यायालयको सम्मान पनि हुन सक्छ र न्यायालयलाई पनि उचित न्याय निरुपण गर्नसक्छ । त्यो कमरेड माधव नेपालको लागि पनि अनुकूल हुन जान्छजस्तो मलाई लाग्छ । त्यसकारण कमरेड माधव नेपालले अध्यक्ष पदबाट राजीनामा दिएर स्वतन्त्र ढंगले न्यायीक प्रक्रियामा सहभागी भएर कानूनी लडाई लड्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।

४. यी मैले राखेका प्रस्तावहरू कमरेड माधवकुमार नेपालकै हितका लागि छ। उहाँले कानूनी प्रक्रियामा आफूलाई पूर्ण रुपमै लगाएर, आफूलाई लागेको मुद्दालाई अदालतमा स्पष्टताको साथ राखेर, अदालतमा कानूनी रुपमा आफूलाई हडतापूर्वक उभ्याइ निर्दोष साबित हुनुहोस् हाम्रो शुभकामना छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *