काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमबीच पार्टी एकता विषयमा सहमति बनेको छ। उनीहरूले नेकपा (माओवादी केन्द्र) सँग पुनः एकता गरी कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने धारणा साझा गरेका छन्।
यसअघि पतञ्जली जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि खनालले अध्यक्ष माधवकुमार नेपाललाई पार्टी नेतृत्व छोड्न आग्रह गरेका थिए, तर नेपालले अस्वीकार गरेका थिए। लामो आरोप–प्रत्यारोपपछि शनिबार आलोकनगरस्थित पार्टी कार्यालयमा अध्यक्ष नेपाल र खनालबीच करिब पौने दुई घन्टाको भेटवार्ता भयो।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार दुवै नेताले एकअर्काविरुद्ध सार्वजनिक टिप्पणी नगर्ने सहमति गरेका छन् र फेरि बैठक बस्ने निर्णय गरेका छन्। खनालले छलफलमा पर्याप्त समय नपाएको गुनासो राख्दै पार्टीका विवादहरू विधिसम्मत तरिकाले समाधान गर्नुपर्नेमा जोड दिए।
खनाल–गौतमबीचको भेटमा माओवादी केन्द्रसँगको एकता, पार्टीभित्रको सहकार्य र कम्युनिस्ट आन्दोलनको भविष्यबारे प्राथमिक छलफल भएको बताइएको छ। यस विषयमा अब अध्यक्ष नेपालसँग पनि विस्तृत वार्ता हुने तयारी छ।




