काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिकका नेताहरूले राजधानीको थापागाउँमा नयाँ कार्यालय खोल्ने तयारी गरेका छन्। यो कार्यालय नाममा ‘मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समिति’ को लागि भए पनि, भित्रभित्रै यसलाई एमालेभित्रको शक्ति समिकरणमा विद्याभक्त गुट को सक्रिय मोर्चा मानिएको छ।
समितिको संरक्षकमा स्वयं भण्डारी रहेको र यसको नेतृत्वमा बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन्। उनले ७५ सदस्यीय समिति बनाएर वर्षभर ‘जबज’ र मदन भण्डारीबारे विमर्श चलाउने योजना सार्वजनिक गरेका छन्।
तर परिस्थितीले नयाँ मोड लिएको छ। एमालेले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने र सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेपछि, उनीनिकटका नेताहरू आक्रोशित छन्। त्यसकै प्रतिक्रिया स्वरूप, भण्डारी पक्षधर समूहले थापागाउँको ऐतिहासिक घरलाई नयाँ ‘पोलिटिकल सेन्टर’ बनाउँदैछ।
यो त्यही घर हो, जहाँबाट २०४८ सालमा मदन भण्डारीले आफ्नो चुनावी अभियान सञ्चालन गरेका थिए। पछि, मदनको निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन्। अब फेरि यही घर एमालेभित्र ‘साइलेंट वार’ को केन्द्र बन्ने संकेत देखिएको छ।
यो कदम केवल जयन्ती मनाउने बहानामा सीमित रहने देखिँदैन। राजनीतिक विश्लेषकहरू भन्छन् — भण्डारी पक्षधर समूहले एमालेको शक्ति सन्तुलनमा आफ्नो उपस्थिति पुनः स्थापित गर्न नयाँ संरचनाको स्थापना सुरु गरेका हुन् ।




