हेटौँडा। बागमती प्रदेशको नेतृत्व अब नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँको काँधमा पुगेको छ। गठबन्धन दलहरूको सहमतिपछि बानियाँले मुख्यमन्त्रीको औपचारिक दाबी पेश गर्दै प्रदेश सरकारको बागडोर सम्हाल्न लागेका हुन्।
राजनीतिक चातुर्य, संगठन क्षमता र समन्वयक नेतृत्वदायी शैलीका लागि चिनिने बानियाँको आगमनसँगै बागमती प्रदेशमा स्थायित्व र सुशासनको अपेक्षा गरिएको छ। बानियाँ विगतदेखि नै पार्टी संगठनभित्र कुशल व्यवस्थापन र सहकार्यको अभ्यासमा सशक्त नेताका रूपमा परिचित छन्। उनी नेतृत्वमा आउनुले सत्ता सन्तुलनसँगै विकासका एजेन्डामा एकरुपता ल्याउने विश्लेषण गरिँदैछ।
प्रदेशमा लामो समयदेखि देखिएको सत्ता अस्थिरता र राजनीतिक तानातानलाई व्यवस्थापन गर्दै नागरिकहरूका जीवनस्तरसुधारका मुद्दालाई सरकारको प्राथमिकतामा राख्ने बानियाँको भनाइ छ। ‘अब बागमती प्रदेशमा जनताको सरकार, जनताको एजेन्डा र जनतामै केन्द्रित हुने छ,’ उनले भनेका छन्।
बानियाँले सरकारको प्राथमिकतामा स्थानीय पूर्वाधार विकास, सुशासन, रोजगारी सिर्जना, आर्थिक पारदर्शिता र लगानीमैत्री वातावरण सिर्जनामा केन्द्रित हुने स्पष्ट पारेका छन्। सशक्त प्रशासनिक संयन्त्र र राजनीतिक समन्वयको सन्तुलन कायम गर्दै विकासको गतिमा तिव्रता ल्याउने उनको रणनीति छ।
विशेषज्ञहरू भन्छन्, ‘इन्द्रबहादुर बानियाँ जस्तो संगठनकर्मी नेता नेतृत्वमा आउँदा बागमती सरकार स्थायित्वमा जानेछ र व्यवस्थापन पक्ष सबल हुनेछ।’
यता, नागरिकस्तरबाट समेत बानियाँ नेतृत्वप्रति सकारात्मक आशा व्यक्त गरिएको छ।




