काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने उद्देश्यले थप प्रभावकारी अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रवार कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको निरीक्षण गर्दै मन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डारण र प्रयोग मुलुकका लागि गम्भीर चुनौती बनेको उल्लेख गरे। “लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ,” उनले भने, “एक वर्षअघि हामीले सुरु गरेको महाअभियान सार्थक बनेको छ। अब सबैको सहकार्य आवश्यक छ।”
उनले पछिल्लो वर्ष लागुऔषध नियन्त्रणमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै स्रोतसाधनको कमीका बाबजुद सरकारको अभियान प्रभावकारी भएको बताए। “अब अझ दृढतापूर्वक अगाडि बढ्नुपर्छ,” गृहमन्त्रीले भने।
गृहमन्त्री लेखकले युवापुस्तामा लागुऔषधको लत गहिरिँदो अवस्था चिन्ताजनक रहेको बताए। “देशको भविष्यसँग जोडिएको युवाशक्ति नै फसिरहेको छ,” उनले भने, “कारबाही मात्र पर्याप्त छैन, व्यापक जनचेतनामूलक अभियान आवश्यक छ। यो प्रहरीको मात्र नभई सबै नागरिकको जिम्मेवारी हो।”
उनले लागुऔषध नियन्त्रण ब्युरोलाई विभागको रूपमा विकास गर्ने प्रतिबद्धता जाहेर गर्दै उक्त योजनाका लागि प्रहरी प्रधान कार्यालयलाई तयारी थाल्न निर्देशन दिए।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले मन्त्रीको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नेपाल प्रहरी वर्षौंदेखि लागुऔषध नियन्त्रणमा क्रियाशील रहेको बताए।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तथा सीआईबी प्रमुख चन्द्रकुवेर खापुङ, लागुऔषध नियन्त्रण ब्युरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।




