काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र आन्तरिक मतभेद सार्वजनिक रूपमा चर्किएको छ। बामदेव गौतमको पार्टी प्रवेशसँगै अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीचको तनाव सतहमा आएको हो । पार्टी नीति र ऐतिहासिक निर्णयप्रति सार्वजनिक रूपमा फरक धारणा राखेकै कारण अध्यक्ष नेपालले खनाललाई नैतिक आधारमा पार्टी छाड्न सुझाव दिएका छन्।
नेपालले शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँगको संवादमा खनालले एमाले टुक्र्याउनु गल्ती भएको भन्नु पार्टी नीतिविपरीत भएको बताएका छन्। उहाँको बोली पार्टी निर्णयसँग मेल खाँदैन, त्यसैले उहाँलाई विदा हुन सुझाव दिएको हुँ, अध्यक्ष नेपालको भनाइ थियो।
खनालले यसअघि पनि पार्टीको संस्थागत निर्णयहरूलाई चुनौती दिने अभिव्यक्तिहरू दिएका थिए, जसले नेतृत्वप्रति असन्तुष्टि मात्र होइन, नेतृत्वको औचित्यमै प्रश्न उठ्न थालेको संकेत दिन्छ। पार्टीभित्र सम्मानित नेतासँग यस्तो असहिष्णु व्यवहार देखिनु नेतृत्वको अस्थिरता र असहज भविष्यको सूचक हो भन्ने विश्लेषण हुँदैछ।
अर्को प्रसंगमा अध्यक्ष नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले रोक नलगाएको बताएका छन्। तर उनले देउवा र ओलीको गठजोड रहेसम्म वैकल्पिक सरकार बन्न नसक्ने स्पष्ट सन्देश दिएका छन्।
यस घटनाक्रमले एकीकृत समाजवादी पार्टी भित्र नेतृत्वको पकड कमजोर हुँदै गएको र आन्तरिक असहमति व्यवस्थापन गर्न नेतृत्व सफल नदेखिएको स्पष्ट पारेको छ । गौतमको आगमनले नयाँ उर्जा ल्याउने आशा गरिए पनि, पुराना घाउहरू बल्झिँदै छन्।




