काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पदबाट राजीनामा दिन निर्देशन दिएका छन् ।
देउवाले बिहीबार लामालाई भेटेर संसदीय दलको नेताबाट पराजित भइसकेकाले राजीनामा दिनुपर्ने धारणा राखेका थिए। लामा निकट एक प्रदेश सांसदका अनुसार, ‘सभापतिले राजीनामा दिन भन्नुभएको छ, तर लामा भने सांसदहरूसँग परामर्श गरेर निर्णय गर्ने बताउनु भएको छ।’
एक वर्षअघि मुख्यमन्त्री बनेका लामाविरुद्ध हालै अविश्वास प्रस्ताव पारित भएको थियो, जसपछिको निर्वाचनमा इन्द्र बानियाँ नयाँ संसदीय दलका नेता चुनिए। कांग्रेस अब बानियाँलाई मुख्यमन्त्री बनाउने तयारीमा छ। बागमतीमा बाँनिया मुख्यमन्त्री बन्ने पक्का भएको छ।
लामा पक्षले कांग्रेसभित्र न्याय नपाएको गुनासो गरेको छ। ‘यो लामा र बानियाँको मात्र विषय होइन, नेतृत्व तहमा असहमति र हस्तक्षेप बढेको देखिन्छ,’ एक सांसदले बताए। संविधानको धारा १६८(९) अनुसार मुख्यमन्त्री हुन दलको नेता हुनुपर्छ भन्ने बाध्यता नभएको भन्दै लामाले राजीनामा दिन अस्वीकार गरेका छन्।
यो विषयलाई लिएर कांग्रेस र एमालेका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल समेत भएको छ, जसले बागमतीको राजनीतिक गणित थप जटिल बनाएको छ।




