काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत धेरै गाली खानुपरेको स्मरण गरे । उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए । व्यापारी, उद्योगीहरू मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे ।
उनले भने ‘नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ । व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीकरण गर्नुभयो । यति गाली पाउनुभयो उहाँहरूले, सारा व्यापारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो । हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन । व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो ।
केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि । सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि । आफू गर्नुपर्यो नि । आफू केही नगर्ने अनि हामीलाई दोष दिने रु काम गर्नुपर्यो, मेहनत गर्नुपर्यो । बिना मेहनत हुँदैन व्यापार होस् चाहे उद्योग होस् ।’
सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताए । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि बताए ।




