जलश्रोत/उर्जा

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, विद्युत् प्रवाह सुरु

सोलुखुम्बु। सोलुखुम्बु जिल्लास्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ।

सोलु हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको यो आयोजना निजी लगानीमा निर्माण भएको दोस्रो ठूलो जलविद्युत् आयोजना हो। सहायक प्रबन्धक कृष्णबहादुर चौधरीका अनुसार आयोजनाले साउन ४ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको हो। सोलुदूधकुण्ड नगरपालिका–७ र ११ सिमानाको साल्मेमा बाँध निर्माण गरी, करिब ६ किलोमिटर तल तिङ्लाको भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको छ।

४१–४१ मेगावाट क्षमताका दुई पेल्टन टरबाइन जडान गरिएको आयोजनामा पाँच किलोमिटर सुरुङमार्गमार्फत खोलाको बहाव नियन्त्रण गरिएको छ। दुवै युनिटको सफल परीक्षण भइसकेको छ भने अब नेपाल विद्युत् प्राधिकरणले १५ दिनसम्म परीक्षण उत्पादन मूल्यांकन गर्नेछ।

सन् २०१६ मा सुरु गरिएको आयोजनालाई भौगोलिक, प्राविधिक र जलवायुजन्य अवरोधले चुनौती बनाएको थियो। पहिरोले संरचनामा क्षति पुर्‍याएपछि केही पुनःनिर्माण गरिएको हो। लागत केही बढे पनि दीर्घकालीन टिकाउपनामा फाइदा पुग्ने अपेक्षा गरिएको छ।

एफएमओसहित विभिन्न युरोपियन बैंकको करीब रु १६ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यो आयोजना ‘सुपर सिक्स’ परियोजनाअन्तर्गत पर्छ। आयोजनाले हिउँदमा न्यूनतम २३ र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

निर्माण अवधि सेप्टेम्बर २०२५ तोकिएको भए पनि काम दुई महिनाअघि नै सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिएको छ। आयोजनाले सोलुखुम्बुमा रोजगारी, पूर्वाधार र आर्थिक गतिविधिमा उल्लेखनीय प्रभाव पारेको जनाइएको छ। स्थानीय जनप्रतिनिधिहरूले आयोजनालाई समृद्धिको आधारको रूपमा लिएको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *