देश

कम्युनिष्टहरू डेमोक्रेटिक सिद्धान्तमा ढलिसकेका छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट दलहरू व्यवहारमा लोकतान्त्रिक समाजवादी (डेमोक्रेटिक सोसलिस्ट) सिद्धान्तमा ढलिसकेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ‘नाममा कम्युनिष्ट भए पनि व्यवहारमा सबै पार्टीहरू डेमोक्रेटिक सोसलिस्ट पार्टीजस्तै’ भएर काम गरिरहेको बताए ।

‘काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरूलाई,’ देउवाले भने ‘तर विस्तारै ढालिसकेका छन्। कम्युनिष्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढलिसकेका छन् ।’

सभापति देउवाले अहिलेको संविधान सबैका लागि स्वीकार्य भएको दाबी गरे । उनका अनुसार केही विषयमा संविधान संशोधनको आवश्यकता देखिए पनि त्यो स्वाभाविक प्रक्रिया हो । ‘आज संविधान सबैका लागि स्वीकार्य भएको छ । केही कुरामा संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन्, त्यो स्वाभाविक हो। आवश्यकतानुसार संशोधन हुन्छ,’ उनले भने ।

उनले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउनेबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि साझा धारणा रहेको उल्लेख गरे ।

‘कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ। त्यो हाम्रो पनि कुरा हो,’ देउवाले भने ।

देशमा कुनै पार्टीको पनि एकल बहुमत आउन कठिन रहेको उल्लेख गर्दै देउवाले गठबन्धन र सहकार्य अपरिहार्य हुने स्पष्ट पारे । ‘अहिलेको संविधान अत्यन्तै राम्रो छ, समावेशी छ,’ उनले भने ‘तर कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ ।’

सभापति देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि अझै आधारभूत तहमा पुग्न नसकेको स्वीकार गरे । ‘हामी अझै पनि ग्रासरुटमा बलियो भइसकेका छैनौं,’ उनले भने ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *