काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजवादी आन्दोलनको मूल दर्शन ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई मार्गदर्शक सिद्धान्तका रूपमा लिएर नेकपा (एमाले) लाई संगठित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
एमालेले सक्रिय राजनीतिमा फर्कन रोक लगाएपछि आज पहिलोपटक सार्वजनिक रूपमा काठमाडौंको बबरमहल(कार्की बैंकेटमा) एक पत्रकार सम्मलन गर्दै भण्डारीले जबजलाई एमालेको मूल मार्गदर्शक सिद्धान्तको रूपमा पुनः स्थापित गर्ने संकेत दिएकी हुन्। उनले पार्टीभित्र सिद्धान्त, अनुशासन र कार्यकर्तामुखी संरचना निर्माणका लागि आफू निरन्तर संलग्न रहने जनाएकी छन्। उनले पार्टीको सल्लाह अनुसार नै दस्यता दर्ता गरिसकेको र पार्टीले सो विषयलाई पुर्नबिचार गर्न आवश्यक रहेको औँल्याइन् ।
पूर्वराष्ट्रपतिको हैसियतबाट बाहिरिएपछि भण्डारीले पार्टी र जनताको पक्षमा भूमिका निर्वाह गर्ने अभिव्यक्ति दिँदै आएकी छन्। यद्यपि एमालेले हालैको केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउँदै उनको सदस्यता समेत खारेज गरिसकेको छ।
यस्तै उनले आफूलाई कुनै पदको महत्त्वाकाङ्क्षा र आशक्ति नभएको बताएकी छन् । उनले भनिन्,‘ राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको भन्दै पार्टीमार्फत देश र जनताको सेवा गर्ने चाहाना छ ।’ आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गदै उनले भनिन्,‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन ।’ पूर्वराष्ट्रपतिलाई राजनीति गर्न पाउने संवैधानिक अधिकार भएको बताइन् ।
यसैबीच, भण्डारीको सक्रियता र जबजप्रतिको जोडले एमालेभित्र नयाँ बहस र ध्रुवीकरणको संकेत पनि देखिएको छ।






