राजनीति

कांग्रेस महाधिवेशनअघि सात भाइ सक्रिय, चाक्सिबारीमा रणनीतिक बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र छुट्टै शक्ति सन्तुलन निर्माणको संकेत दिँदै पार्टीका वरिष्ठ नेता समूह ‘सात भाइ’ को रणनीतिक बैठक आइतबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा सम्पन्न भएको छ।

बैठकमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला र प्रकाशमान सिंह सहभागी थिए। प्रवक्ता डा। प्रकाशशरण महतको समेत उपस्थिति रहेको सिंहको सचिवालयले जनाएको छ।

यसअघि श्रेष्ठ र कोइरालाको निवासमा क्रमशः बसेको बैठकलाई निरन्तरता दिँदै चाक्सिबारी बैठक आयोजना गरिएको हो। स्रोतका अनुसार आगामी महाधिवेशनमा छुट्टै समूह बनाएर सहभागी हुने र सातै प्रदेशमा अन्तरक्रिया सुरु गर्ने रणनीतिसहित यो छलफल अघि बढाइएको हो।

बैठकमा महाधिवेशनमा एकीकृत प्यानल बनाएर प्रस्तुत हुने प्रस्तावमा समेत छलफल भएको छ। सहभागी नेताहरू आ(आफ्ना क्षेत्रमा संवाद, भेला तथा तयारी कार्यक्रम सञ्चालन गर्दै एक साझा मोर्चा निर्माण गर्ने तयारीमा छन्।

भित्री असहमति र संस्थागत सन्तुलनको खोजीस्वरूप ती नेताहरूले पार्टी नेतृत्वमा वैकल्पिक धार निर्माण गर्न लागिपरेको संकेत दिएको छ। कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा यस्ता बैठक र प्रयासले आन्तरिक समीकरणमा नयाँ बहस सुरु हुने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *