काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः प्रवेश र अध्यक्ष बन्ने चर्चा गम्भीर विषय भएको बताएका छन्। तर उनले त्यसबारे हालसम्म कुनै औपचारिक प्रस्ताव वा निर्णय नभएको स्पष्ट पारेका छन्।
बिहीबार दिशानिर्देश टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाममा सञ्चालित प्रचार झूटो र आधारहीन भएको टिप्पणी गरे। “पार्टीमा फर्किएर अध्यक्ष बन्ने भनेर भइरहेको प्रचार गलत हो,” उनले भने, “उहाँले सदस्यता नवीकरण गर्नु पार्टीको सदस्य बन्नुजस्तै सामान्य प्रक्रिया हो, न कि नेतृत्व सम्हाल्ने तयारी।”
ओलीले पूर्वराष्ट्रपति रामवरण यादवको कार्यशैली उदाहरणीय भएको उल्लेख गर्दै, भण्डारीले राष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि दलमा फर्किने विषय अझै संवेदनशील र गम्भीर छलफलको विषय हुने बताए।
“यो विषय गम्भीर हो, तर अहिलेसम्म न त मसँग छलफल भएको छ, न पार्टीमा औपचारिक ढंगले उठाइएको छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो। पूर्वराष्ट्रपतिका हैसियतमा दलमा फर्किने प्रक्रिया राजनीतिक हिसाबले मात्र होइन, नैतिक, संवैधानिक र संस्थागत दृष्टिले पनि बहसको विषय हुने ओलीको संकेत थियो।
तर पूर्व राष्ट्रपति भण्डारीले केही दिन अघि एक पत्रकार सम्मेलन गरी आफूलाई पार्टीले रुचाएकाले पार्टीको जिम्मेवारीका विषयमा पार्टीले आगामी अधिवेशनले निर्णय गर्नेृ बताइसकेकी छिन् ।




