देश

घुसकाण्डपछि मन्त्री गुप्ता बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुसकाण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुवाटार बोलाएर छलफलमा बोलाएका छन् । गुप्ता सोमबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेको स्रोतले जनाएको छ ।

हालै सार्वजनिक भएको एक अडियो क्लिपमा मन्त्री गुप्ताले कास्कीमा भूमि आयोग गठन तथा मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने सन्दर्भमा विचौलियासँग रकमको कुरा गरेको विवरण बाहिर आएको छ। अडियोअनुसार गुप्ताले मालपोत प्रमुखको सरुवा रोकेबापत ५३ लाख रुपैयाँ र भूमि आयोगको अध्यक्ष बनाउने सर्तमा २५ लाख रुपैयाँ माग गरेको अड्कल गरिएको छ।

घटनाले राजनीतिक तहमा चर्को आलोचना निम्त्याएको छ। सत्तारूढ दलभित्रैदेखि मन्त्री गुप्ताको बर्खास्तीको माग उठ्न थालेको छ। गम्भीर आरोपसँगै प्रधानमन्त्री ओलीले स्थिति बुझ्न गुप्तालाई व्यक्तिगत रूपमा भेटेर स्पष्टीकरण माग्न सक्ने बुझिएको छ । सरकारका उच्च स्रोतका अनुसार, अडियो र त्यसको सम्भावित कानुनी तथा राजनीतिक असरलाई लिएर प्रधानमन्त्रीले गम्भीर ध्यान दिएका छन्। अब गुप्ताको पद टिक्ने कि पदमुक्त गरिने भन्ने विषयमा चाँडै निर्णय हुने संकेत पनि देखिएको छ।

यस घटनाले मन्त्रीस्तरमै भ्रष्टाचारको संलग्नताको आशंका बलियो बनाएको छ भने सरकारी सेवा क्षेत्रमा विचौलिया संस्कृति अझै सक्रिय रहेको प्रष्ट देखिएको विश्लेषकहरूको धारणा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *