देश

अध्यक्ष नेपालले भने – मुद्दाकै कारण पार्टीले कारबाही गरे स्वीकार्न तयार छु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्धको भ्रष्टाचार मुद्दालाई लिएर पार्टीले बिदा दिन चाहे स्वीकार गर्न तयार रहेको स्पष्ट पारेका छन्। उनले यो कदम संविधानविपरीत र प्रतिशोध प्रेरित भएको दाबी गर्दै आफूमाथि लागेको आरोपप्रति गम्भीर असहमति जनाए।

शुक्रबार अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, “पार्टी कमिटीले सोच्छ कि मुद्दा लागेको भनेर अब माधव नेपाललाई बिदा गरौं भने म त्यसका लागि तयार छु।” नेपालले आफूले जीवनभर एक पैसा पनि घुस नलिएको दाबी गर्दै, मुद्दा नै आधार मानेर राजनीतिक जीवनमाथि प्रश्न उठाउनु अन्यायपूर्ण भएको बताए। उनले संविधानमा सरकारको नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न नमिल्ने प्रावधान हुँदाहुँदै आफूमाथि मुद्दा लगाइएकोमा आपत्ति जनाए।

“यो राजनीतिक प्रतिशोध हो, तर म डराउँदिन,” अध्यक्ष नेपालको कडा प्रतिक्रिया थियो। उनले प्रतिशोध साध्नेहरूले अन्ततः आफैं खनेको खाल्डोमा पर्ने चेतावनी पनि दिए। नेपालको यो अभिव्यक्ति केवल मुद्दामाथिको प्रतिक्रिया मात्र नभएर पार्टीभित्रको आन्तरिक असन्तोष र सम्भावित दबाबको जवाफ पनि हो। उनले पार्टी निर्माणमा आफ्नो योगदान र चुनौतीसँग जुध्न सक्ने क्षमताको स्मरण गराउँदै आफ्ना आलोचकहरूलाई प्रत्यक्ष सन्देश दिएका छन्।

माधव नेपालको यो सार्वजनिक प्रतिक्रिया उनले आफ्नो राजनीतिक अस्तित्वमाथि कुनै पनि प्रकारको दबाब स्वीकार नगर्ने संकेत हो। अब प्रश्न उठेको छ – पार्टीभित्र मुद्दाको राजनीति हुन्छ कि नेतृत्वले विश्वासमा आधारित मार्ग रोज्छ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *