काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालको स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन असहयोग गर्ने नेता तथा कार्यकर्ताहरूमाथि कडा अनुशासनात्मक कारबाही गरेको छ। केन्द्रीय अनुशासन समितिको असार ९ गतेसम्म बसेको बैठकले प्रमाणित आरोपका आधारमा २३ जनालाई निलम्बन र निष्कासनको निर्णय गरेको हो।
कांग्रेसले गम्भीर आरोप लागेका पाँच जना नेतालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी एक वर्षको लागि निष्कासन गरेको छ। तीमध्ये तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, र पर्सा क्षेत्र नं। १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता रहेका छन्।
त्यस्तै, धनुषा लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन गरिएको छ।
धनुषा, कास्की र कैलालीका विभिन्न तहका सभापति, प्रतिनिधि र क्रियाशील सदस्यहरूलाई ६ महिनासम्म पार्टी सदस्यताबाट निलम्बन गरिएको छ। कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई भने तीन महिनाको लागि निलम्बन गरिएको छ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल, अडियो–भिडियो लगायतका माध्यममार्फत पार्टी उम्मेदवारलाई हराउन गरिएको असहयोग, प्रचार र अभियानका प्रमाणहरूका आधारमा कारबाही गरिएको हो।” कांग्रेसले पार्टी अनुशासन र आन्तरिक एकतालाई बलियो बनाउन यस्तो कदम चालेको बताइएको छ।





