काठमाडौं । रसुवामा सोमबार राति आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय टोलीसहित आज प्रभावित क्षेत्र जाँदैछन्। प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुख दीपक थापा, र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल समेत निरीक्षण भ्रमणमा सहभागी हुनेछन्।
टोली दुई हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रतर्फ प्रस्थान गर्ने तयारीमा रहेको छ। एक हेलिकप्टरमा प्रधानमन्त्री ओली बालुवाटारबाट उड्नेछन् भने अर्कोमा गृहमन्त्री र अर्थमन्त्री यात्रा गर्नेछन्।
सरकारको तर्फबाट उच्च सतर्कता र समन्वयमा बाढी पीडितको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले यो अवलोकन भ्रमण तय गरिएको जनाइएको छ।




