काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछिका सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संसद्बाटै शक्तिशाली आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘जेन जेड पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले युवापुस्ताले कांग्रेसमा विश्वास गर्न सुरु गर्न यस्तो साहसी कदम आवश्यक रहेको बताए। उनले कांग्रेसकै तर्फबाट छानबिनमा सहयोग हुने अठोट गर्नुपर्ने धारणा राखे।
“कांग्रेसका नेता तथा कार्यकर्ताले एकपटक आँट गरेर आयोगले भनेको कुरा मानौं भने मात्र नयाँ पुस्ताले हामीलाई पत्याउँछ,” थापाले भने, “सत्ता पाएको कांग्रेस हो, त्यसैले ०४६ सालपछि सार्वजनिक जिम्मेवारी सम्हालेका सबैको सम्पत्ति छानबिन गरौं। आयोगमा कुनै दलको भागबन्डा नरहोस्, देशले विश्वास गर्ने व्यक्तिहरू राखौं।”
थापाले वडास्तरदेखि संघसम्मका नेता, सांसद, मन्त्री, मेयर, वडा अध्यक्षलगायत सबैको निष्पक्ष सम्पत्ति छानबिन हुनुपर्ने बताए।
उनका अनुसार, अहिलेका युवा पुस्तालाई लागिरहेको छ कि देशको अस्तव्यस्त अवस्थाका लागि राजनीतिक दलहरू, विशेषतः चरम भ्रष्टाचारमा लिप्त नेताहरू जिम्मेवार छन्।
“आजको पुस्तालाई लाग्छ, नेताहरूको भ्रष्टाचारले देश आज यो अवस्थामा पुगेको हो,” थापाले थपे, “उनीहरूले प्रमाण र सत्यतथ्य खोज्छन्। त्यसैले उनीहरूसँग संवाद गर्न पहिले उनीहरूको कुरालाई सुन्न र सम्बोधन गर्नुपर्छ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायत नेताहरूले पनि आफ्ना धारणा राखेका थिए।




