काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको आरोपमा जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको छ। साढे ५ लाख रुपैयाँको लेनदेनमा चेक बाउन्स भएपछि फरार रहेको आरोपमा पर्सा प्रहरीले हाल बर्दिया प्रहरीले उनलाई खोजी गरी बुझाइदिन पत्राचार गरेको छ।
पर्साकी जनमत नेतृ आशा कुमारी चौहानले रायमाझीविरुद्ध उजुरी दिएकी थिइन्। उजुरी अनुसार, रायमाझीले ५ लाख ५० हजार रुपैयाँ सापटी लिएर चेक दिएका, तर तीनपटकसम्म चेक बाउन्स भएपछि कानुनी बाटो रोजिएको हो। रायमाझीले रकम फिर्ता दिने बहानामा पटक–पटक बैंकिङ नियमको उल्लंघन गर्दै झुटो चेक दिएका र सम्पर्कविहीन बनेको आरोप उजुरीकर्ताको छ। आशाका अनुसार, रायमाझीले आफैंलाई ूबहिनीू भन्दै परिवारसँग पनि आत्मीयता बनाएकी थिइन्, तर पछि विश्वास तोडेकी हुन्।
चौंक्याउने कुरा के छ भने, रायमाझीले आशाको घरमै बसेर होटल खर्चसमेत २० हजार रुपैयाँ नगद झिकेकी थिइन्। साथै, आशाको कपडा पसलबाट थुप्रै कपडाहरू उधारोमा लगेको आशाले बताएकी छन्। प्रदेश सांसद भएकी हुनाले विश्वास गरेँ, तर पछि ठगिएको महसुस भयो,उनले भनिन्।
उजुरी दर्ता भए पनि जनमत पार्टीको नेतृत्वले कुनै चासो नदिएको आशाको गुनासो छ। पार्टीभित्र धेरैपटक भने पनि कुनै सुनुवाइ नभएपछि मुद्दा दर्ता गर्नु परेको हो, उनले बताइन्। अब पर्सा प्रहरीले बर्दिया प्रहरीमार्फत रायमाझीको खोजी तीव्र बनाएको छ। उनी समातिएपछि घर खानतलासी र थप अनुसन्धान अघि बढाइने तयारी प्रहरीको छ। राजनीतिक मर्यादा, विश्वास र जनप्रतिनिधिको आचरणमाथि प्रश्न उठाउने यो घटनाले देखाएको छ—सत्ता वा पदले मात्रै चरित्रको ग्यारेन्टी दिन सक्दैन। प्रदेश सांसदको हैसियतमा रहेर सामान्य नागरिकसँगको विश्वास तोड्ने कार्य केवल कानुनी मात्र होइन, नैतिक जिम्मेवारीको पनि गम्भीर उल्लंघन हो।





