काठमाडौं । संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अवरुद्ध गर्ने रणनीति बनाउँदै कालो लुगा र निलो रिबनसहितको प्रदर्शनमा उत्रिएको रास्वपा र राप्रपालाई सत्तारुढ दल नेकपा एमालेले तीव्र आलोचना गर्दै कडा सन्देश दिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाको व्यवहारलाई “राजनीतिक स्टन्ट” भनेका छन्। माओवादी केन्द्रसँगको दुई बुँदे सहमतिअनुसार संसद चलिरहेको स्पष्ट पार्दै उनले सरकारले दलैपिच्छे सम्झौता गर्न नसक्ने बताए। “यदि रास्वपा सांसदहरूले यस्तै गैरजिम्मेवार प्रवृत्ति दोहोर्याइरहे, यो शैलीले पार्टीलाई नै निल्नेछ,” बर्तौलाले चेतावनी दिए।
बर्तौलाले प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार तय भएको र सभामुखले कार्यसूची हटाउनुको कारण पनि होहल्ला र संसद मर्यादा उल्लंघन भएको बताए। “संसद मर्यादा भत्काएर रिबनको राजनीति गर्न खोज्नु आपत्तिजनक हो,” उनको टिप्पणी थियो। यसैबीच, माओवादी केन्द्रका नेताहरूले सरकारसँग सहमति गरेर संसद खोल्ने निर्णयमा प्रमुख भूमिका खेले पनि, पार्टीकै केही नेताहरू रास्वपाको अराजकतामा मौन समर्थन जनाउँदै छन्। यसले सरकारसँगको प्रतिबद्धताको गम्भीरता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
रास्वपा–राप्रपाको संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले संसदमा उपस्थित भई दोष कर्मचारीमाथि देखाउँदै आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन्। उनले गैरकानुनी कार्यमा संलग्न जो–कसैमाथि निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन् – जब विरोधको शैली लोकतान्त्रिक संवादभन्दा बढी अराजक र नाटकप्रदर्शनमुखी बन्छ, त्यसले जनताको विश्वास जित्दैन, झन् संस्थालाई कमजोर पार्छ। संसद जस्तो गम्भीर मञ्चमा यस्तो ‘सस्तो प्रदर्शन’ले लोकतान्त्रिक मूल्यमा गम्भीर क्षति पुर्याउँछ।




