राजनीति

संसदीय मर्यादा उल्लङ्घन गर्दै उश्रृङखल गतिविधि गरेपछि रास्वपा सांसदलाई संसदबाट निष्कासन गर्न कांग्रेसको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले देखाएको व्यवहारप्रति सत्तारुढ नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुखसमक्ष रास्वपाका केही सांसदलाई संसदको बैठक कक्षबाट निष्कासन गर्न माग गरेका छन्।

बैठकमा बोल्दै घिमिरेले प्रतिनिधिसभा नियमावलीको हवाला दिँदै सांसदहरूले गरेको पोशाक प्रयोग र नाराबाजीलाई अभद्र र अव्यवस्थित व्यवहारको संज्ञा दिए। उनले भने, “कोही हाफ पाइन्ट लगाएर आउँछ, कोही स्कार्फ बाँधेर। भोलि कुनै पनि लुगा लगाएर संसद आउन मिल्ने हो भने यो मर्यादा कसरी कायम हुन्छ ?”

घिमिरेले नियमावलीको धारा ३० र ३१ अनुसार सभामुखले अभद्र व्यवहार देखाउने सांसदलाई चेतावनी दिन र आवश्यकता अनुसार बैठक कक्षबाट निष्कासित गर्न सक्ने अधिकारको प्रयोग गर्न आग्रह गरे। “सभामुखज्यूले यस्ता व्यवहार गर्नेलाई संसदबाट निष्कासनको प्रक्रिया अघि बढाउनु जरुरी छ,” घिमिरेको भनाइ थियो।

रास्वपाका सांसदहरूले ुमानव तस्करीविरुद्ध ऐक्यबद्धताु जनाउँदै निलो रिबन बाँधेर संसदमा प्रवेश गरेका थिए। तर, उनीहरू बैठकका क्रममा वेल घेरी गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै चर्का नाराबाजीमा उत्रिए। संसदलाई ‘जनमतको आवाज बुलन्द गर्ने’ थलोभन्दा पनि ‘प्रदर्शनको मैदान’ बनाउने शैलीप्रति सत्ता पक्ष मात्र होइन, अन्य दलहरूबाट पनि आलोचना भइरहेको छ।

संसद विचार र तर्कको थलो हो, जहाँ गम्भीर मुद्दाहरूमा बहस हुनु पर्दछ। पोशाक र शैलीको कारणले होइन, विषयको गम्भीरताले जनमत तयार पार्न सकिन्छ। अहिलेको सन्दर्भमा राजनीतिक दलहरूलाई मर्यादा, विधि र विषयवस्तुको संवेदनशीलतालाई सन्तुलनमा राखेर अघि बढ्न आवश्यक देखिएको छ। रास्वपाले यो आलोचना गम्भीरतापूर्वक आत्मसमीक्षा गर्ने बेला आएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *