काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन गरिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसद् समक्ष औपचारिक रूपमा सो जानकारी गराएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा साढे १८ करोड रुपैयाँभन्दा बढीको बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार सार्वजनिक पदमा बसेको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ।
माधव नेपाल प्रधानमन्त्री रहँदा पतञ्जलीसँग सम्बन्धित जग्गा व्यवस्थापनमा अनियमितता भएको आरोप छ। सोही प्रकरणमा अख्तियारले हालै उनीसहित अन्य केही व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि दायर मुद्दाले अब संसदमा मात्र होइन, उनको राजनीतिक भविष्यमा समेत असर पार्न सक्ने देखिन्छ। निलम्बनको औपचारिक घोषणा संसदमा गरिँदा राजनीतिक हलचल थप चर्किएको छ।




