सप्तरी। राजविराज नगरपालिकामा कार्यवाहक नगर प्रमुख इससरत परवीनसहित जनप्रतिनिधिहरूले मंगलबार तालाबन्दी तोडेर कार्यालयमा प्रवेश गरेपछि अवस्था तनावपूर्ण बनेको छ।
यसअघि निलम्बित नगर प्रमुख भीमराज यादवका समर्थकहरूले प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर ९ बुँदे माग राख्दै आइतबारदेखि कार्यालयमा ताला लगाएर धर्ना सुरू गरेका थिए। सोही ताला कार्यवाहक प्रमुख परवीन नेतृत्वको समूहले तोड्दा विवाद चुलिएको हो।
सामान्य प्रशासन मन्त्रालयले पूर्व प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा गरी शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो। तर, निलम्बित नगर प्रमुख यादवले डा. साहलाई नै जिम्मेवारीमा राखिनुपर्ने माग गर्दै विरोध जनाउँदै आएका थिए।
कार्यवाहक प्रमुख परवीन भने कानुनअनुसार मन्त्रालयले पठाएको अधिकृतलाई हाजिरी गराएर जिम्मेवारी दिने पक्षमा रहेकी छिन्। यस्तै मतभेदकै कारण नगरपालिकाको कामकाज तीन दिनदेखि ठप्प भएको थियो।
मंगलबार कार्यवाहक प्रमुख परवीन, प्रवक्ता जयनारायण मण्डल, वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादवसहित समर्थकहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराएपछि स्थिति तनावग्रस्त बनेको हो। निलम्बित प्रमुख यादवका समर्थकहरूले टायर जलाएर प्रदर्शन गरे भने झ्यालका सिसा र सिसी क्यामरा तोडफोड भएको छ।
यसअघि दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा वार्तामा बसे पनि सहमति नजुटेपछि कार्यवाहक प्रमुख परवीन नेतृत्वमा ताला खोलिएको हो।राजविराजमा अहिले ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
निलम्बित प्रमुख यादवले सिसी क्यामेरा जडानमा छानबिन, ६८ बिघा जग्गामा बसोबास गर्दै आएका ५ हजारभन्दा बढी परिवारलाई लालपुर्जा वितरण, हटिया बजारको व्यवस्थापन, नगरका सडक र नालाको मर्मत, तथा लामखुट्टेविरुद्ध औषधि छर्किने व्यवस्था लगायत मागसहित तालाबन्दी र धर्ना सुरू गरेका थिए।




