
काठमाडौं । संसद् अवरोधको निकास निकाल्न नेपाली कांग्रेस सक्रिय बनेपछि सत्ताप्रतिपक्ष दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्साहित देखिएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामासहित छानबिन समिति गठनको माग गर्दै विपक्षी दल निरन्तर अवरोधमा उत्रेपछि सत्तामा रहेकाे कांग्रेसको संवादमा सक्रियता बढेसँगै परिस्थिति सहज बन्ने संकेत देखिएको हो।
संसद् बैठक पटक–पटक स्थगित भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएका छन्। झन्डै ११ महिनापछि भएको यो संवादले दुवै दलबीच चिसिएको सम्बन्धमा सुधार ल्याएको बताइएको छ।
रास्वपाले भिजिट भिसाको नाममा मानव तस्करीजस्ता गम्भीर आरोप उठाउँदै पाँचबुँदे प्रस्तावमार्फत उच्चस्तरीय छानबिन समिति गठनको माग राखेको छ। समितिलाई संसद् अनुगमन गर्ने अधिकारसमेत दिने प्रस्ताव गरिएको छ। तर, सत्तासाझेदार दल एमाले र कांग्रेस दुवैले अख्तियारले अनुसन्धान गरिरहेका विषयमा छुट्टै समिति आवश्यक नरहेको अडान लिएका छन्।
सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) भने यो कसरतबाट अलग देखिएको छ। एमालेले गृहमन्त्रीको राजीनामा वा छानबिन समिति गठन दुवैको पक्षमा नउभिने स्पष्ट पारेको छ। एमाले सांसदहरुले अवरोधको सुरुआत विपक्षीले गरेका कारण निकास पनि उनीहरूकै जिम्मेवारी भएको तर्क गरेका छन्।
एमालेको असहभागिताबीच कांग्रेस–माओवादी संवाद बाक्लिएको छ। शनिबार देउवा र प्रचण्डबीच बूढानीलकण्ठमा भेट भएको थियो। त्यसअघि शुक्रबार कांग्रेस नेताहरूले प्रचण्डसँग छलफल गरेका थिए। त्यही समझदारीपछि संसद् बैठक स्थगनको सूचना टाँस गरिएको हो।
माओवादी नेताहरूले कांग्रेससँग संवाद सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। देउवाले माओवादी अध्यक्षलाई फोन गरी माधव नेपालविरुद्धको मुद्दाबारे चासो देखाएपछि सम्बन्ध सुधारतर्फ उन्मुख भएको बुझिएको छ। पछिल्लो समयमा माओवादीले संसद् अवरोध हटाउन लचकता देखाउँदै छानबिनको प्रतिबद्धता पर्याप्त हुने संकेत दिइरहेको छ।
रास्वपाको जोड, एमालेको बेवास्ता
रास्वपाले भने संसद् अवरोध हटाउन समिति गठन अपरिहार्य भएको जिकिर गर्दै आएको छ। कांग्रेस र माओवादी मिलेर प्रस्ताव तयार गरिरहेको बेला रास्वपाले पनि आ–आफ्नो अडान कायम राखेको छ। उता, एमाले कुनै लिखित वा मौखिक सहमति प्रक्रियामा सहभागी नभएको भन्दै त्यसबाट टाढा बसेको छ। एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र रास्वपाका स्वर्णिम वाग्लेले पनि एमाले संसद् खुलाउने प्रयासबाट टाढा रहेको आरोप लगाएका छन्।
विपक्षी दलहरूबीच छलफल भइरहे पनि अझैसम्म ठोस सहमति बन्न सकेको छैन। संसद् सचिवालयले सोमबारको बैठक फेरि स्थगन गरी अब बुधबार बस्ने जानकारी गराएको छ। संसद् अवरोध खुलाउने प्रयासमा कांग्रेस र माओवादीबीचको समन्वय बढ्दो छ, तर एमालेको निष्क्रियता र रास्वपाको कडा अडानले राजनीतिक दृश्य अझै अन्योलमा राखेको छ। आगामी केही दिन संसद् सञ्चालनको दिशामा निर्णायक बन्ने अनुमान गरिएको छ।