काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाईसीएलको नेतृत्व चयनमा सहमति जुटाउन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई खुमलटार बोलाएका छन्।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८ बाट सुरु भए पनि नयाँ नेतृत्वबारे सहमति जुट्न नसकेपछि प्रचण्ड आफैं छलफलमा सक्रिय भएका हुन्। पार्टी पदाधिकारी बैठकले ऊर्जाशील र स्पष्ट निर्णय क्षमता भएका व्यक्तिलाई अध्यक्ष बनाउने भन्दै सहमतिको खाका बनाउन दीपशिखा, शेर्पाली र अन्य आकांक्षी नेताहरूलाई जिम्मेवारी दिएको थियो।
अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, र डम्बर पुलामीलगायतको नाम चर्चा भइरहेको छ। तर उम्मेदवारहरूबीच आ(आफ्नो अडान कायम रहेपछि निर्णय गर्न कठिन भइरहेको नेताहरूको भनाइ छ। प्रचण्डले बोलाएको बैठकले नेतृत्व चयनमा सहमति जुटाउने प्रयासलाई तीव्र बनाउने अपेक्षा गरिएको छ। सम्मेलनको कार्यसूची अनुसार अब चाँडै नयाँ अध्यक्षको टुंगो लाग्ने सम्भावना बढेको छ।




