राजनीति

‘झोले’ टिप्पणीलाई सन्देश बनाउँदै ओलीको डिजिटल प्रतिआक्रमण अभियान सुरु

काठमाडौं । सामाजिक सञ्जालमा आलोचनाको घेरामा परेका नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘झोले’ भन्ने टिप्पणीलाई नयाँ राजनीतिक सन्देशका रूपमा प्रयोग गर्दै डिजिटल अभियान थालेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ मा आलोचना स्वरूप प्रयोग गरिएको “चौकीदार” शब्दलाई “मै भी चौकीदार” अभियानमा बदलिएको शैलीमा अब ओलीले पनि आलोचकको शब्दलाई आत्मसात गर्दै “म झोले हो” अभियानको सुरुआत गरेका छन्।

विगतमा सामाजिक सञ्जालमा ओली र एमालेप्रति देखिएको सकारात्मक धारणा पछिल्ला वर्षहरूमा कमजोर बन्दै गएको थियो। झोले शब्द कार्यकर्तालाई होच्याउन प्रयोग हुँदै आएको बेला ओली स्वयंले सार्वजनिक रूपमै “म झोले हो” भन्दै पोस्टर सार्वजनिक गरेपछि यो विषय पुनः चासोको केन्द्रमा आएको हो।

ओलीले आफ्नो फेसबुक पेजमा दुई हात जोडेका तस्वीरसहित “म झोले हो” शीर्षकमा पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, “एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।”

उनले सामाजिक सञ्जालमा कार्यकर्ताहरूलाई आत्मबल उच्च राख्न आग्रह गर्दै लेखेका छन्, “झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं।” एमाले स्रोतका अनुसार यो अभियान प्रधानमन्त्री ओलीसँग निकट केही युवा र विद्यार्थीको पहलमा सुरु भएको हो। प्रधानमन्त्री ओलीले एमाले बुद्धिजीवी परिषद्को महाधिवेशनमा ‘झोले’ शब्दलाई गौरवपूर्ण शैलीमा प्रस्तुत गरेपछि समर्थकहरूले पोस्टर बनाएका थिए। ओलीले पनि त्यसलाई समर्थन जनाउँदै सार्वजनिक गरेका हुन्।

“म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ, जनताको हितको झोला बोक्ने, परिवर्तनको झण्डा उठाउने झोले हुँ—के भयो त झोले हुँदा?”

यद्यपि, यो अभियान पार्टीको औपचारिक निर्णय वा रणनीतिअनुसार नभएको ओली सचिवालयले जनाएको छ। सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार, “सामाजिक सञ्जालमा एकल अभिव्यक्तिको परीक्षण नै नहुने, पक्ष–विपक्षको आधारमा मात्रै आक्रमण हुने प्रवृत्तिप्रति व्यंग्य गर्दै झोले पोस्टर सार्वजनिक गरिएको हो।”

हालसालै गायक प्रकाश सपुतले प्रधानमन्त्रीको प्रशंसा गरेपछि सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया आएपछि ओलीले झोले अभियान सार्वजनिक गरेका थिए। यसै विषयलाई लिएर चलचित्र ‘बसन्त’ पनि आलोचनाको शिकार बनेको थियो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले अभियानलाई प्रतिक्रिया दिनु आवश्यक रहेको भन्दै लेखेका छन्, “राजावादीहरूले झोले भनेर खिसी गरेपछि हाम्रो अभिव्यक्ति सेल्फ सेन्सर हुन थाल्यो। विचारको झोला बोक्न हिच्किचाउनु हुन्न।”

यद्यपि, एमालेलाई केन्द्र बनाएर चलेको यस अभियानबारे एमाले समर्थकबाहेक अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने सकारात्मक प्रतिक्रिया दिएका छैनन्। यसअघि पनि ओलीले ‘अरिंगाल’ शैलीको प्रतिकार र साइबर सेनाको अवधारणा अघि सारेका थिए, जुन अपेक्षित रूपमा सफल हुन सकेको थिएन।

यसपटक ‘झोले’ अभियान कति प्रभावकारी हुन्छ भन्ने कुरा आगामी दिनमा सामाजिक सञ्जालको प्रतिक्रियाबाट प्रष्ट हुने देखिन्छ। फिलहाल भने, आलोचना र प्रतिआलोचनाको डिजिटल मैदानमा एमाले पुनः आक्रामक रूपमा देखिन थालेको छ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *