काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई राजनीतिक हतियार बनाएर संसद अवरुद्ध गर्ने कार्यलाई असंवैधानिक र लोकतन्त्रविपरीत भन्दै कडा आपत्ति जनाएका छन्।
सोमबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षको अवरोधको कारण संसद सुचारु हुन नसकेको जनाए। उनले संसद चलाउन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादको प्रयास गरे पनि उनी जानीजानी सम्पर्कमा नआएको आरोप लगाए।
“संसद नियमित चलाउने प्रयासमा म छु,” प्रधानमन्त्री ओलीले भने, “तर संवादबाट टाढा रहँदै सदन अवरुद्ध गर्नु लोकतान्त्रिक मर्यादाविपरीत हो।” ओलीले गृहमन्त्रीमाथि कुनै कानुनी उजुरी वा अनुसन्धान नचलेको अवस्थामा राजीनामाको माग गर्नु निरर्थक भएको स्पष्ट पारे। उनले यस्ता कुरामा संसद रोक्नुको कुनै औचित्य नरहेको बताए।
सांसदहरूलाई तयारी गर्न निर्देशन
प्रधानमन्त्रीले मंगलबारदेखि संसद सञ्चालन हुने बताएपछि एमाले सांसदहरूलाई संसद्मा सक्रिय सहभागिता जनाउन तयार रहन आग्रह गरे। उनले भने, “सडकमा जति माग उठे पनि संसद अवरुद्ध गर्ने परिपाटीले लोकतन्त्रलाई धक्का दिन्छ।”
राजतन्त्रको चर्चा ‘अविवेकी र कालबाह्य’
संसदमा बजेट छलफल नजिकिँदै गर्दा ओलीले राजसंस्थाको पुनर्स्थापनाबारे उठिरहेका बहसलाई ‘दास मानसिकता’ को उपज भन्दै खारेज गरे। “आजको युगमा जन्मजात राजा भन्ने कुरा विज्ञान, लोकतन्त्र र न्यायसँग मेल खान्न,” उनले भने। उनले भारत, चीन र अमेरिकाजस्ता देशमा निर्वाचित नेतृत्वमार्फत देश चलेको उदाहरण दिँदै नेपालमा राजतन्त्र पुनर्स्थापनाको कुरा उठ्नु आफैंमा विडम्बनापूर्ण रहेको जिकिर गरे।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा रहेका कारण कतिपय शक्तिहरूले निरन्तर आलोचना र असफलता देखाउने प्रयास गरिरहेको पनि बताए । उनले भने, “हामीमाथि केन्द्रित घण्टाकर्ण शैलीका आक्रमण भइरहे पनि सरकार विकास र सुशासनका एजेन्डामा अझ प्रभावकारी रूपमा अघि बढ्नेछ।”




