काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजसंस्थाको पक्षमा भइरहेका गतिविधिमाथि कडा प्रतिक्रिया दिएका छन्। उनले राजावादीहरूले निरन्तर मूर्खता दोहोर्याइरहेमा पूर्वराजा ज्ञानेन्द्र शाहसमेत कारबाहीको घेरामा पर्न सक्ने चेतावनी दिएका छन्।
प्रचण्डले प्राइम टेलिभिजनमा दिइएको अन्तर्वार्तामा स्पष्ट रूपमा भने, “यदि यिनले यही मूर्खता गर्दै गए भने पूर्वराजालाई जेल हाल्ने समय टाढा छैन।” पछिल्लो समय राजसंस्थाको पुनर्स्थापनाको मागसहित भइरहेको आन्दोलनलाई ‘संविधानविपरीतको गतिविधि’ भन्दै आलोचना गर्दै प्रचण्डले लोकतन्त्र र गणतन्त्रको विकल्प खोज्नेलाई कडा जवाफ दिनुपर्ने अवस्था आएको बताए। उनले पूर्वराजा ज्ञानेन्द्रलाई दिदैँ आएको सुरक्षा गार्ड शून्य बनाउने र नजर बन्द हुँदै जेल पर्न सक्ने बताए ।
उनले भने,‘संविधान, लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाउने काम कुनै पनि हालतमा सह्य हुने छैन। कानून सबैका लागि बराबर हो, चाहे ती पूर्वराजा नै किन नहून्। राजसंस्था र गणतन्त्रबीचको बहस फेरि एकपटक तातिएको छ। प्रचण्डको चेतावनीले बहस राजनीतिक विमर्शभन्दा कानुनी र द्वन्द्वात्मक दिशातर्फ मोडिने संकेत गरेकाे छ ।




