काठमाडौँ। नेपालको स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वृद्धि गरिएको छ। यस वर्ष स्वास्थ्य मन्त्रालयलाई रु ९५ अर्ब ८१ करोड विनियोजन गरिएको छ, जुन गत आर्थिक वर्षको रु ८६ अर्ब २४ करोडभन्दा बढी हो।
सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमका लागि रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए। गत आवमा स्वास्थ्य बिमा कार्यक्रमलाई रु सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो।
अर्थमन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गरिने बताए। उनले कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिनेमा जोड दिए। “बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिनेछ। बीमितलाई फरकफरक योजनाको सुविधा उपलब्ध गराइनेछ। बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ,” उनले भने।
त्यसैगरी, हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने पनि अर्थमन्त्री पौडेलले जानकारी दिए।




