काठमाडौं । संसद अवरोधको अगुवाइ गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि अहिले गम्भीर आलोचना हुँदै आएको छ । भिजिट भिषा प्रकरणमा जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद ठप्प पार्ने रणनीति अपनाउँदै आएको रास्वपा आफ्नै सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा छुटाउन सरकारमाथि दबाब दिने खेलमा लागेको आरोप लाग्न थालेको छ।
विपक्षमा बसे पनि रास्वपाले हाल माओवादी केन्द्र र राप्रपासँग मिलेर सरकारलाई लगातार दबाब दिइरहेको छ। तर यो दबाब साच्चै पारदर्शिता र जवाफदेहिताको लागि हो त? कि आफ्नै नेता बचाउन संसदलाई बन्दी बनाउने प्रयास? अहिले सो प्रश्नमाथि संका गर्र्ने ठाउँ रहेको जनता र राजनीतिक विशेषज्ञहरुले बताइरहेका छन् । रास्वपाको दोहोरो चरित्रले पनि सो दर्शाउछ ।
लामिछानेविरुद्ध अदालतले थुनामा राखेर नै अनुसन्धान गर्न आदेश दिएपछि रास्वपाले सोही दिनदेखि अदालत र सरकार दुवैलाई लक्षित गर्दै आक्रोश देखाउन थाल्यो। भिजिट भिसा प्रकरणलाई लिएर उठाइएका प्रश्नहरूको राजनीतिक उपयोग गर्दै गृहमन्त्रीलाई निशाना बनाउनु लामिछानेको मुद्दाबाट जनध्यान हटाउने प्रयासजस्तो देखिन्छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “रास्वपाले मुद्दाको गम्भीरता भन्दा पनि रणनीतिक हिसाबले संसदलाई ‘शक्ति प्रदर्शन’ को थलो बनाइरहेको छ।” पार्टी प्रवक्ता शिशिर खनालको संसदमा देखिएको कडा तेवर पनि यही दबाबको अभिव्यक्ति हो।
यता नेपाली कांग्रेसले भने स्पष्ट रुपमा रास्वपाको रणनीतिलाई असंवैधानिक र आधारहीन भनेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्रीमाथि कुनै भ्रष्ट्राचारको प्रमाण नभइ हल्लाका भरमा नै संसद अवरुद्ध गर्नु लोकतान्त्रिक मूल्य विपरीत भएको टिप्पणी गरे। कांग्रेसले लामिछानेको विषयमा अफवाहका आधारमा संसद रोकिनु अक्षम्य हुने उल्लेख गर्दै आएको छ।
सो परिस्थितिले संसदको गरिमा र कार्यक्षमता दुबैमा प्रश्न उठाएको छ। लोकतान्त्रिक अभ्यासको नाममा निजी एजेन्डा लाद्ने प्रवृत्तिले लामो समयसम्म राजनीतिक प्रणालीमै अविश्वास जन्माउने सम्भावना बढेको छ। रास्वपाको यथार्थ उद्देश्य अब स्पष्ट हुन आवश्यक छ—संसदमार्फत सुधारको खोजी, कि आफ्नै नेतालाई जोगाउने प्रयास ?
नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा प्रकरणलाई लिएर संसद अवरोध गर्ने विपक्षी दलहरूलाई आधारहीन र अनावश्यक भन्दै अस्वीकार गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीमाथि कुनै औपचारिक आरोप नलागेकाले संसद रोक्नुको तुक नहुने स्पष्ट पारे। गृहमन्त्री लेखकले गैरकानुनीकार्य गर्ने कुनै पनि कर्मचारीमाथि अनुसन्धान अगाडी बढाउँदा आफुमाथि कारबाही हुनुपर्ने भन्दै प्रश्नचिह्न खडा गर्दै संविधानविपरित राजीनामा माग्नु गलत रहेको बताउँदै आएका छन् ।
तर मंगलबारको प्रतिनिधिसभा बैठक रास्वपाले मुख्यरुपमा अवरोध जनाएपछिछ स्थगित बन्यो । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । अहिलेसम्म बैठक संचालनमा आउन सकेन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए भने सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि माओवादी सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि गम्भीर प्रश्न रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने धारणा राखे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उच्चस्तरीय छानबिन आयोगको गठन गरी अनुसन्धान अगाडी बढाउन प्रतिपक्ष दलले माग गरे । उनीहरुले गृहमन्त्री लेखकको संलग्नता भएको प्रमाण नभेटिएपनि आरोप लागेकाले राजीनामा माग गरेको बताए । ।
सभामुख देवराज घिमिरेले बारम्बार शान्त हुन आग्रह गरेपनि प्रतिपक्ष दलका सांसदहरुले संसद अवरुद्ध गर्ने रणनीतिका साथ खैलाबैला गर्दै संसदमा नाराबाजी समेत भएको थियो । सो बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई आफ्नो भनाइ राख्न आग्रह गरेपछि प्रतिपक्ष दल नेकपा माओवादी, रास्वपा ,राप्रपा लगायतका विपक्ष दलहरुले उठेर नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध भएको हो ।




