काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय तथा मातहतका कार्यालयहरूमा काम ढिलो हुने प्रवृत्तिमाथि कडा असन्तुष्टि जनाउँदै तीन दिनभित्र फाइल छिनोफानो गर्ने व्यवस्था गर्न कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। काठमाडौंमा आइतबार बसेको मन्त्रालयस्तरीय समीक्षा बैठकमा मन्त्री खड्काले भने,“कुनै पनि काम ढिला हुनु अब सह्य हुँदैन। फाइल थन्काउने, प्रक्रिया लम्ब्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ।”
उनले “स्थायी सरकार भनेका कर्मचारी स्थायी जिम्मेवारीप्रति जिम्मेवार बन्नुपर्छ” भन्दै काम गर्नेलाई प्रोत्साहन र नकाम गर्नेलाई कारबाहीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। मन्त्रालय र निकायहरूबाट अपेक्षित प्रगति नदेखिएको भन्दै उनले असन्तुष्टि पनि जनाए। मौनसुन सुरु हुन लागेको सन्दर्भमा मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागलाई सतर्कता सूचना समयमै जनस्तरसम्म पुर्याउने कार्यमा सक्रिय हुन निर्देशन दिए।
बैठकमा राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत सचिव सरिता दवाडी, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत वरिष्ठ कर्मचारीको उपस्थिति रहेको थियो। साथै, वैशाख मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको थियो।




