देश

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ: नवनियुक्त गभर्नर डा. पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन्।

बालुवाटारस्थित बैंकको कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे। “वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ,” उनले भने, “नियमन र सुपरीवेक्षण अर्को काम हो। धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ। यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ।”

बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले बताए।

त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर मात्रै निर्णय लिने उनको भनाइ छ। “नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ। म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन। सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर जान्छौँ,” गभर्नर पौडेलले भने। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैंकको आन्तरिक मामिला भएको धारणा पनि उनले राखे। नवनियुक्त गभर्नर डा. पौडेलले रु ५०० र एक हजार दरका बैंक नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गरेका छन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *