राजनीति

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले त्तत्काल निर्णय नलिए, सत्तासमिकरण परिवर्तन हुने संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ गठबन्धनको मुटुमा चिरा पार्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको पूर्वसहमति विपरीत डा. विश्व पौडेलको नाम अस्वीकार गरेपछि सत्ता साझेदारी संकटतर्फ उन्मुख देखिन थालेको छ। राजनीतिक पृष्ठभूमिमा यो विवाद केवल गभर्नरको कुर्सी होइन, सत्ता सन्तुलनको गहिरो खेल बनेको छ।

ओलीको अडान, देउवाको असन्तुष्टि  :  बैठकहरू रद्द

सोमबार साँझका लागि तय मन्त्रिपरिषद् बैठक र देउवासँगको भेट एकाएक स्थगित हुनु, कथित ‘स्वास्थ्य समस्या’ बाहेक पनि धेरै कुरा बोल्छ। कांग्रेस स्रोतका अनुसार, डा. पौडेलको नाम अस्वीकार गरिएपछि प्रधानमन्त्रीसँग संवाद नगर्ने निर्णय सभापति देउवाले लिएका छन्। सभापति देउवाले प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिमा पूर्व सहमति अनुसार तत्काल निर्णय नलिए सत्ता सहकार्य गरेर कांग्रेसले छवि नविगार्ने बताइसकेका छन् । सभापति देउवाले भने,‘ “हामीलाई धोका दिने शैली दोहोरिएमा सहकार्यको कुनै अर्थ रहँदैन।”

प्रधानमन्त्रीले कांग्रेसलाई गभर्नरका लागि क्यान्डीटेड तयार पार्न लगाउने र अख्तियारमा उजुरी हाल्न लगाउने प्रधानमन्त्रीको शैलीले नेपाली कांग्रेसले ठोस निर्णय लिन ढिला नगर्ने बताएका छन् । कांग्रेस महामन्त्री संस्थापन र इतरसमुहले नै ओलीको बागचलको खेल अब लामोसमयसम्म हेरेर बस्न नसकिने बताएका छन् । गभर्नरको विषयलाई लिएर प्रधानमन्त्री ओली कांग्रेसभित्रका असल छबि भएका व्यक्तिको छविमा दाग लगाइएको आरोप समेत लगाएका छन् । एमालेसँगको सहमतिपछि नेपाली कांग्रेसले डा। गुणाकर भट्टलाई अघि सारेका थिए । त्यसपछि प्रधानमन्त्रीकै प्रस्तावमा डा. विश्व पौडेललाई अघि सारेको थियो तर प्रधानमन्त्री ओलीले पहिला डा. गुणाकर भट्ट ‘हुँदैन’ भने, त्यसपछि डा. विश्व पौडेल पनि ‘हुँदैन’ भने — यस्तो अस्थिर सन्देशले कांग्रेस प्रधानमन्त्रीको द्धैध चरित्रका कारण रिसले चुर परेको छ । सोमबार साँझ उपसभापति पूर्णबहादुर खड्काको निवासमा बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग अब गभर्नरबारे थप छलफल नगर्ने निष्कर्ष निकालेको छ।

कांग्रेस नेताहरूले प्रधानमन्त्री ओली सत्ता साझेदार भएर राजनीतिक बेइमानीमा लागेको भन्दै ओलीले सो विषयमा त्तत्काल निर्णय नलिए आफूहरु फरक बाटो रोज्न बाध्य हुने बताएका छन् । राजनीतिक विश्लेषकहरू भन्छन्, “यदि यो विवाद थप गहिरियो भने, कांग्रेसले सत्ता समीकरण पुनर्विचार गर्न सक्छ।” नेकपा एमाले र कांग्रेसबीच गभर्नर जस्तो संवैधानिक पदमा समेत सहमति कायम राख्न नसक्नुले आन्तरिक अविश्वासको स्तर देखाउँछ।

प्रधानमन्त्री ओलीले चाँडै निर्णय लिएनन् भने केवल गभर्नरको नाम अस्वीकार मात्रै होइन — गठबन्धन सरकारकै दिशा मोडिने सम्भावनाको संकेत देखिएको छ । सत्ता साझेदारबीचको यो विश्वास संकट अब भोलिको बजेट, विधेयक, र समग्र राजनीतिक सहकार्यमा असर पार्न थाल्न सक्छ।प्रधानमन्त्री ओलीले ‘स्वास्थ्य समस्या’ भन्दै बैठक रद्द गरे पनि कांग्रेसभित्र यो ‘राजनीतिक बहाना मात्र’ भनेर ठानिएको छ। कांग्रेस नेताहरूले गभर्नर नियुक्तिमा सहमति नमिल्दा सरकारलाई नै असर पर्ने चेतावनी दिएका छन्। एक कांग्रेस नेताले भने, “प्रधानमन्त्री ओली गभर्नरको नाम अस्वीकार गरेर सत्ता साझेदारमाथि अविश्वास प्रकट गरिरहनु भएको छ। यसले अब सरकारमै फाटो ल्याउने सम्भावना उच्च छ।”

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *