काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ। बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले नागरिकका जनजीविका, पूर्वाधार निर्माण, उपभोक्ता बजारका समस्या, प्राकृतिक विपद् लगायतका विषयहरू उठाएका छन्।
सांसद रमा कोइराला पौड्यालले बजारमा खाना पकाउने ग्यासका सिलिन्डर धेरै कम्पनीको रहेको र कुनै सिलिन्डर अभाव हुँदा अर्को साट्न समस्या हुने गरेको विषय संसद्मा उठाइन्। कुनै एक कम्पनीको ग्यास सिलिन्डर साटेर अर्को कम्पनीको लिँदा रु ५०० देखि एक हजारसम्म अतिरिक्त तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। यस विषयमा सम्बन्धित निकायबाट अनुगमन गर्न सांसद कोइरालाले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन्।
सांसद अमनलाल मोदीले हुलाकी सडकको निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण नागरिकले दुःख पाइरहेको बताए। संसद्मा आवाज उठाउँदा पनि हुलाकी सडक निर्माणमा तदारुकता देखिन नसकेको उनले उल्लेख गरे।
अर्का सांसद छिरिङडम्डुल लामाले हुम्ला जिल्लामा हिमताल फुटेर बस्ती जोखिममा रहेको भन्दै लेदोसहितको पहिरोले लिमी तिल गाउँ जोखिममा परेको बताए। जोखिममा रहेका बस्तीमा उद्धारका लागि कुनै पनि निकायबाट पहल हुन नसकेको उनले उल्लेख गरे।
आज पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, आजै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव संसद्मा पेस गर्नेछन्।




