काठमाडौं । झन्डै दुई सातापछि कांग्रेस महामन्त्री गगन थापा सार्वजनिक कार्यक्रममा देखिएका छन् । अघिल्लो एक साता व्यक्तिगत विदेश भ्रमण सकेर फर्केका थापा काठमाडौंमा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी सोमबार राजधानी आएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकार सञ्चालनको विषयलाई लिएर कांग्रेसमा उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको टिप्पणी गरेका छन् । बीपी कोइरालाको जीवनकथामा आधारितक पुस्तक ‘सान्दाजु’ को लोकार्पण कार्यक्रममा उनले यसभित्रै अवसर छ भनेर पनि भन्नुपर्ने बताए । ‘कांग्रेसभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर, एउटा अवसर पनि छ भनेर म भनिरहेको छु,’ उनले भने ।
लामो समयदेखि टेक्निकल र ब्युरोक्रेटिक कुरा गरिए पनि योपटकको घटनाले फरक अनुभव गराएको उनले बताए । ‘यो पटकको घटनाले हामीलाई के देखाइदिएको छ, चुनाव जितेका छौं । नेपालको ठूलो पार्टी हौं हामी । हामी सबैतिर सरकारमा छौं । नभएको ठाउँ नै छैन । अहिले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो,’ गगनले भने, ‘सबै हाम्रो । गभर्नर हाम्रो, उm हाम्रो त्यो हाम्रो । जताततै हाम्रो । यस्तो बेलामा खुसी हुनुपर्ने हो नि कांग्रेस । सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? यसले के देखायो भने हामीले खोजेको यो होइन ।’
उनले कांग्रेस राष्ट्रिय शक्ति भएको पनि बताए। ‘राष्ट्रिय शक्ति भनेको त्यो हो, जसले तत्समयमा राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो समस्या बुझ्छ, त्यसलाई चिन्छ, थाहा पाउँछ, त्यो समस्यालाई सम्बोधन गर्छु भनेर संकल्प गर्छ र त्यसलाई सम्बोधन गर्ने सामर्थ्य पनि राख्छ। त्यो राष्ट्रिय शक्ति हो। अहिलेको अप्ठ्यारोबाट देशलाई बाहिर कांग्रेसले निकाल्ने हो,’ उनले भने। कांग्रेसलाई गनगन गर्ने सुविधा नभएको उल्लेख गर्दै उनले त्यसमा सबै जुट्न आह्वानसमेत गरे।
कांग्रेसमा असन्तुष्टि छ भनेर बोलेका गगनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ । केही दिनअघि कांग्रेस संसदीय दलको बैठकमा समेत सांसदहरूले गगनकै जस्तो धारणा राखेका थिए । खासगरी प्रधानमन्त्री केपी ओलीले एकमना ढंगले सरकार चलाएपछि कांग्रेसमा विकल्प खोज्नुपर्ने आवाज उठ्दै गएको हो । कांग्रेस सांसदहरुले सभापति शेरबहादुर देउवालाई ओलीको धेरै विश्वास नगर्न सुझाव दिएका छन् ।




