देश

सरकार ढाल्ने एजेन्डा होइन, जनताको आवाज उठाउने अभियानमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको उद्देश्य सरकार परिवर्तन नभई जनताको आवाज उठाउने रहेको स्पष्ट पारेका छन्। दैलेखमा आयोजित मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान अन्तर्गतको सभामा बोल्दै अध्यक्ष प्रचण्डले सरकारले गलत बाटो समातेको आरोप लगाउँदै, माओवादी नेतृत्वमा सुरु भएका विकास कार्यक्रमहरू भत्काउन खोजिएको गुनासो गरे।

“हाम्रो ध्यान न सरकार ढाल्नेतिर छ, न सरकार बनाउनेतिर,” उनले भने, “हामी जनताको माग लिएर सडकमा छौं, सरकारलाई सही बाटोमा फर्काउन चेतना जगाइरहेका छौं।”

प्रचण्डले मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको योगदान ऐतिहासिक रहेको बताउँदै, मध्यपहाडी लोकमार्ग पनि आफू प्रधानमन्त्री हुँदा प्रस्ताव गरिएको विकास परियोजना भएको उल्लेख गरे।

उनका अनुसार लोकमार्गले हिमाल, पहाड र तराईका बासिन्दालाई जोड्ने मात्र होइन, बसाइसराइ रोक्ने, पर्यटन, शिक्षा, स्वास्थ्य, जडीबुटी र कृषि क्षेत्रको विकास गर्ने माध्यम पनि बन्नेछ। कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ लगायतको उपस्थिति रहेको थियो।

प्रचण्ड नेतृत्वको यो अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको हो र बजेटअघि सरकारसमक्ष जनताको मागहरू पुर्‍याउने लक्ष्य रहेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *