काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकार गभर्नर नियुक्तिको प्रक्रियामा म्युजिकल चेयर खेलजस्तै देखिएको भन्दै कडा आलोचना गरेका छन्। उनले यो राजनीतिक खेलका कारण नीति र योजनाहरू अलमलमा परेको दाबी गरेका हुन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले गभर्नर नियुक्ति प्रक्रियामा सरकारले चुस्त निर्णय लिन नसकेको र बारम्बार फेरबदल गर्दै आएको आरोप लगाए। सरकार गभर्नर नियुक्तिको म्युजिकल चेयरमा मस्त छ। प्रशासनिक संरचना बलियो बनाउनुपर्ने ठाउँमा उल्टै अन्योलता थपिएको छ,उनले भने।
गिरीका अनुसार, निजामती विधेयकमा समेत संसदीय समिति कूलिङ पिरियड दुई वर्ष कि तीन वर्ष भन्ने अन्योलमा अल्झिएको छ। उनले थपे, प्रदेश सरकारले अधिकारको माग गरिरहेको छ, शिक्षकहरू अनिश्चित अवस्थाबाट फर्किएका छन्, तर सरकार अझै निर्णयविहीन छ। सांसद गिरीले आफ्नो क्षेत्र दाङको टरिगाउँ एयरपोर्ट निर्माणमा सरकारको ध्यान नपुगेको भन्दै चासो व्यक्त गरे। उनले भने, विकासको ढोका खोल्ने यो महत्वपूर्ण परियोजनालाई सरकारले प्राथमिकता दिनुपर्ने जरुरी छ।
गिरीले अत्यधिक बहुमतसहितको सरकारले यस्ता प्रशासनिक अलमल हटाएर नीतिगत स्पष्टता दिनुपर्ने आवश्यकता औंल्याए। नीति तथा कार्यक्रम त बहुमतले पारित भयो, अब सरकार अलमल नगरी स्पष्ट योजनासहित अघि बढोस्,ू उनले आग्रह गरे।
सरकारले गभर्नर नियुक्ति, निजामती सुधार, र विकास आयोजनामा स्पष्ट रणनीति अघि बढाउने हो कि फेरि अर्को ुम्युजिकल चेयरु खेल देखिने हो ? सांसद गिरीको प्रश्नले संसद्मा बहसको विषय बनाएको छ।




