काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सामन्ती प्रथाको पुनरुत्थान गर्न खोजिएको भन्दै कडा आलोचना गरेका छन्। संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले तिथिमिति तोकेर सिंहासनमा राख्ने र श्रीपेच ढल्काउने सपना फिँजाएर देशलाई पुनः अस्थिरतातर्फ धकेल्न खोजिएको आरोप लगाए।
ओलीले भने, ुइतिहासको रछ्यानमा फालिएको सामन्ती व्यवस्थालाई पुनर्जीवित गर्ने प्रयास सफल हुँदैन। पछिल्लो अढाइ सय वर्ष शाह वंशीय शासनले देशको प्रगतिमा तगारो बनायो। उनका अनुसार, भुरे–टाकुरे राजाहरूको शोषणबाट मुक्त भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको नेपाललाई फेरि पुरानो युगतिर फर्काउन खोज्नु निन्दनीय छ।
प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक अस्थिरतालाई अवसरका रूपमा प्रयोग गरेर राजसंस्था पुनर्स्थापना गर्ने अभियान चलाइएको बताए। उनले भने, संविधानको मर्मविपरीत तिथिमिति नै तोकेर राजा ल्याउने र श्रीपेच पहिर्याउने कल्पना छरिएको छ। यो केवल संविधानमाथिको प्रहार मात्र होइन, मुलुकको स्थायीत्व र विकासप्रति पनि ठाडो चुनौती हो।
ओलीले २०६२/६३ को परिवर्तनले अनिर्वाचित र वंशाधारित सत्ता संरचनालाई अन्त्य गरेको स्मरण गराउँदै, पुनःस्थापनाका लागि भइरहेका गतिविधिलाई असंवैधानिक र प्रतिगामी कदमको संज्ञा दिए। नीति तथा कार्यक्रममा संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने सरकारको अडान स्पष्ट पारिएको ओलीले बताए। उनले प्रतिगामी र पुनरुत्थानवादी कदमविरुद्ध सरकार दृढ रहेको र कुनै पनि प्रकारको अराजक गतिविधि सह्य नहुने बताए। हामीले कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता या वंश–परम्परामा आधारित प्रतिगामी प्रणालीलाई अस्वीकार गर्यौं। तर अहिले राजनीतिक अस्थिरताको फाइदा उठाउँदै संविधानमाथि प्रहार गर्न खोजिएको छ, ओलीले भने।
प्रधानमन्त्री ओलीले जनताको बलिदान खेर नजाने र प्राप्त उपलब्धिहरूको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार दृढ रहेको बताए। संविधानको समीक्षा गर्ने, सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएका कमी सच्याउने प्रतिवद्धता छ। सहमतिको आधारमा अघि बढ्ने हाम्रो नीति हो, उनले थपे । ओलीका अनुसार, सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै जनताको अधिकारको संरक्षण गर्नेछ। कुनै पनि असंवैधानिक कदमलाई सह्य नगर्ने उनले चेतावनी दिएका छन्।




