काठमाडौं । पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष देवकृष्ण पराजुली कर्मचारी र व्यवसायीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका छन्। पराजुलीलाई व्यवसायी लेखनाथ सुवेदीको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो।
मंगलबार वडाध्यक्ष पराजुलीले महानगर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेलमाथि हातपात गरेका थिए। सोही दिन उनले फुटपाथमा सामान राखेको आरोपमा व्यवसायी सुवेदीमाथि पनि हात उठाएको जनाइएको छ।
वडाध्यक्षको आक्रामक व्यवहारप्रति आक्रोशित भएका महानगरका कर्मचारीले बुधबार कार्यालयको सेवा ठप्प पारेर विरोध जनाए। व्यवसायी सुवेदीले पनि पराजुलीविरुद्ध प्रहरीमा औपचारिक उजुरी दिएका छन्।
घटनाले स्थानीय तहको नेतृत्वमा रहेका जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै सार्वजनिक आचरण र जिम्मेवारीको विषय फेरि एकपटक चर्चामा ल्याएको छ।




