राजनीति

विदेशमा नेपाली विद्यार्थीको सुरक्षा गर्न सभामुखको रुलिङ

काठमाडौं । भारतको उडिसास्थित किट कलेजमा नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युको घटनाले प्रतिनिधिसभामा गम्भीर चासो उत्पन्न गराएको छ । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सरकारलाई रुलिङ दिएका छन् । सांसदहरूले आकस्मिक समयमा मुद्दा उठाएपछि सभामुख घिमिरेले सरकारलाई भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन र मृतक छात्राको परिवारलाई आवश्यक न्यायिक सहयोग सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।

“देशका युवायुवती उज्यालो भविष्यका सपना बोकी विदेश अध्ययनमा गएका छन् । तर पछिल्लो समय उनीहरूको एकपछि अर्को रहस्यमय मृत्युका घटनाहरूले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ,” सभामुख घिमिरेले भने, “सरकारले यस घटनाप्रति गहिरो चासो देखाउँदै सत्यतथ्य पत्ता लगाउन र पीडित परिवारलाई सहयोग गर्न उच्च तहमा पहल गर्नुपर्छ ।”

उनले दीर्घकालीन रूपमा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नीतिगत पहल आवश्यक रहेकोसमेत औंल्याए । “यस्ता घटनाको दोहोरिन नदिन सरकार सजग रहनुपर्छ,” सभामुखको अपिल थियो । यस घटनाले फेरि एकपटक विदेशमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर गम्भीर बहसको आवश्यकता रहेको संकेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *