काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममार्फत स्वास्थ्य, पूर्वाधार र स्टार्टअप क्षेत्रमा व्यापक सुधार ल्याउने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतलाई स्वास्थ्य बीमा प्रणालीमा समेटिने जानकारी दिए। उनका अनुसार, स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइनेछ, र सबै सरकारी सहुलियत, अनुदान तथा सेवा बीमाको दायरामा ल्याइनेछ।
सरकारले विगतमा घोषणा गरिएका पूर्वाधार आयोजना पुनः वर्गीकरण गर्ने र यथार्थमै सम्पन्न गर्न सकिने आयोजना प्राथमिकतामा राख्ने नीति ल्याएको छ। राष्ट्रपतिले भने, विकासको ढाँचा, गति र संस्कारमा आमूल परिवर्तन ल्याई परियोजना छनोटदेखि कार्यान्वयनसम्म उत्तरदायी र स्रोत सुनिश्चित नीति अपनाइनेछ। सम्भावना नभएका आयोजनाहरू स्थगन वा खारेज गरिने छन्।ू
नीति तथा कार्यक्रममा जेन–जी पुस्ता केन्द्रित युवामैत्री स्टार्टअप योजना ल्याइने उल्लेख छ।
राष्ट्रपतिले भने, ूस्टार्टअपका लागि इकोसिस्टम विकास गरी व्यवसाय योजना सुनिश्चित गरिनेछ, र उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारीको अवसर वृद्धि गरिनेछ। शिक्षामा पनि उद्यमशीलता मैत्री पाठ्यक्रम अवलम्बन गरी दक्ष जनशक्ति उत्पादन गर्ने र सीप अभाव अन्त्य गर्ने नीति लिइने सरकारको धारणा छ।
राष्ट्रपति पौडेलले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा सरकारको प्राथमिकता रहेको पनि दोहोर्याए। उनका अनुसार, संविधानविरुद्ध अफवाह फैलाउने गतिविधि नियन्त्रण गर्दै संघीय संरचना सुदृढ गर्न सरकार प्रतिबद्ध छ।
यी कार्यक्रमहरूले सरकारले आर्थिक स्थायित्व, सामाजिक सुरक्षा, र युवापुस्तालाई लक्षित नीति कार्यान्वयनमा नयाँ रणनीतिक पाटो अगाडि सारेको संकेत दिन्छ।




