काठमाडौँ। सत्तापक्षीय राजनीतिक दलको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ।
बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकता दिई स्रोतहरूको अपव्यय हुन नदिन जोड दिइएको नेकपा (एमाले) का महासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरिएको उनले बताए। उपमहासचिव ज्ञवालीका अनुसार अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न, सुशासन र कार्यदक्षता बढाउन र बाह्य सम्बन्धलाई सुदृढ गर्न पनि सुझाव दिइएको छ।
यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक आह्वान गरेका थिए।
बैठकमा विद्यमान व्यवस्थामाथिको हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने, बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी ‘मेजर ब्रेक थ्रु’ गर्न त्यही अनुरूप बजेट ल्याउन नेताहरूले सरकारलाई आग्रह गरेका छन्।
पत्रकारहरूको प्रश्नमा नेता ज्ञवालीले सरकार र आन्दोलनरत शिक्षकहरूसँग वार्ता भइरहेको र चाँडै सहमति भई सामुदायिक विद्यालय सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गरे।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत नेताहरूको सहभागिता थियो।




