देश

लिङ्देनले सदनमा झुटो बोलेर भ्रम फैलाउन खोजे : सहमहामन्त्री यादव

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमार्फत झुटो वक्तव्य दिएर नेपाली जनतालाई भ्रमित पार्न खोजेको दाबी गरेका छन्।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री यादवले गत चैत १५ गते काठमाडौँमा भएको राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट घटनामा कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनेर कांग्रेसलाई बदनाम गर्न खोजिएको दाबी गरे। उनले यस्ता प्रमाणबिनाको झुटो आरोप लगाउनेलाई कारबाहीको माग समेत गरेका छन्।

यादवले भने, “मैले सबै सहमहामन्त्रीसँग कुराकानी गरेँ। कुनै पनि सहमहामन्त्रीका छोराछोरी उक्त घटनामा संलग्न छैनन्।” उनले महत्व नभएको र जनताले अस्वीकृत गरेको पार्टी बोकेर लिङ्देनले झुटो मुद्दा लिएर राजतन्त्रको वकालत गरिरहेको र नेपाली जनतालाई फेरि भ्रममा पार्न खोजेको आरोप लगाए।

लिङ्देनले दिएको वक्तव्य कपोकल्पित र झुटो भएको दाबी गर्दै यादवले भने, “यदि कसैको छोरा संलग्न भएको प्रमाण छ भने नाम किटानसहित सार्वजनिक गर्नुपर्छ। प्रमाणसहित आएको खण्डमा कानुनी कारबाही गर्छौँ। तर आधारविहीन आरोप लगाउन पाइँदैन।” उनले संविधानअनुसार झुटो आरोप लगाउनेलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग समेत गरे। सञ्चारमाध्यममा आधारविहीन रूपमा प्रसारित समाचारहरूलाई समेत खण्डन गर्दै यादवले तथ्य प्रमाणसहित मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरे।

गत चैत १५ गतेको आन्दोलनपछि काठमाडौँमा भएको लुटपाटमा लिङदेनले कांग्रेसका सहमहामन्त्रीका छोरा संलग्न भएको कुरा सदनमा उठाएका थिए, जसले यो विवाद उत्पन्न भएको हो।

यस्तै, पत्रकारको प्रश्नमा यादवले अहिलेको सत्ता गठबन्धन राजनीतिक स्थायित्वका लागि बनेको उल्लेख गरे। उनले सरकार चाँडै ढल्ने भन्ने हल्लाहरू निराधार रहेको जिकिर गर्दै सरकारलाई अस्थिर बनाउने प्रयास विफल हुने दाबी समेत गरे।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *