देश

बारपाकबाट प्रचण्डको आह्वान : विपद्‌ व्यवस्थापनमा दीर्घकालीन रणनीति आवश्यक

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकमा आयोजित स्मृति सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भूकम्पपछिको पुनर्निर्माण र जनसाहसको प्रशंसा गर्दै अब दीर्घकालीन नीति र संरचनात्मक तयारीमा जोड दिनुपर्ने बताएका छन्।

प्रचण्डले स्मृति सभामा जनताको धैर्य, साहस र दृढ संकल्पलाई “अद्वितीय” भन्दै प्रशंसा गरे। उनले भने, “विपत्तिबाट उठ्न जनताले देखाएको संयमता र दृढता साँच्चिकै प्रेरणादायी छ।”

उनका अनुसार, पुनर्निर्माणको केही काम सम्पन्न भए पनि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र रोजगार जस्ता क्षेत्रमा जनताले अझै पनि चुनौती भोगिरहेको अवस्थामा छन्। उनले प्रधानमन्त्रीको रूपमा पहिलो कार्यकालदेखि नै भूकम्प प्रभावित क्षेत्रहरूमा केन्द्रित रहेर काम गरेको स्मरण गराउँदै, तेस्रो कार्यकालसम्ममा पनि प्रकोप व्यवस्थापनमा उल्लेखनीय पहलकदमी लिएको दाबी गरे।

दीर्घकालीन रणनीति र एकता अपरिहार्य

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील मुलुक भएकाले प्रचण्डले अबको मार्ग दीर्घकालीन नीति, योजनाबद्ध तयारी र संरचनात्मक सुदृढीकरणको बाटोमा जानुपर्ने आवश्यकता औँल्याए। “विपत्तिको बेला हामी एक भएर उभिन सक्यौँ, अब समृद्धिको यात्रामा पनि एउटै लक्ष्य लिएर अघि बढ्न जरुरी छ,” उनले भने।

मौनधारण र फोटो प्रदर्शनी

महाभूकम्पको इपिसेन्टरमा स्मृति सभा

 

बारपाकसुलिकोट गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा भूकम्पले क्षति पुर्याएको समय ११स्५६ मा मौनधारण गरियो। त्यसअघि प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ सम्बन्धी फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए, जसमा विनाश, राहत कार्य र पुनर्निर्माणका दृश्यहरू समेटिएका थिए।

कार्यक्रममा विशिष्ट सहभागिता

 

कार्यक्रममा प्रचण्डसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायत स्थानीय जनप्रतिनिधि र नागरिकको उल्लेख्य उपस्थिति थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *