काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेताहरूको पद हाल गम्भीर संकटमा परेको छ। पूर्वअध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, डा. धवलशमशेर राणा र हरिबहादुर बस्नेतको पद धरापमा परेको हो।
पार्टीको पुरानो निर्णयअनुसार पार्टीबाहिरका समूह वा अभियानको कार्यसमितिमा संलग्न भएमा स्वतः पदबाट हटिने व्यवस्था गरिएको छ। यो निर्णय गत पुस ५–६ गते केन्द्रीय कार्यसम्पादन समितिमा पारित भएको थियो र माघमा केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिएको थियो।
यी नेताहरू हाल नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा सक्रिय छन्। यही कारणले उनीहरूविरुद्ध पार्टीले पुरानो निर्णय स्मरण गराउँदै पद गुम्न सक्ने संकेत दिएको हो।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार, “पार्टीबाहिरका समूहमा कार्यसमितिको रूपमा संलग्न भएमा पद स्वतः रहँदैन भन्ने निर्णय सबै कार्यसमितिलाई स्मरण गराइएको हो।” उक्त समितिमा सहभागी भएका राप्रपा नेताहरूमध्ये राणा र मिश्र त चैत १५ गतेको आन्दोलनमा प्रत्यक्ष सहभागी भइसकेका छन् र प्रहरी हिरासतमा समेत परेका थिए।
राप्रपाभित्र अहिले अध्यक्ष लिङ्देन समर्थक र इतर समूहबीच स्पष्ट लाइन संघर्ष देखिएको छ। नवराज सुवेदी नेतृत्वको समितिमा लाग्ने धेरैजसो नेता लिङ्देन इतर मानिन्छन्। त्यसैले बिहीबारको निर्णयलाई कतिपयले आन्तरिक सत्ता सन्तुलनको अस्त्रका रूपमा हेरेका छन्।
डा. लोहनी निकट जनकराज पाठकले भने, “यसअघि पार्टीकै मूल समितिले आन्दोलनलाई समर्थन गर्ने निर्णय गरिसकेको छ। त्यसैले समितिमा बसेको भन्दै कारबाही गर्नु मिल्दैन।” यता, राप्रपाले आगामी दिनमा आन्दोलनलाई अझ सशक्त बनाउने तयारी गरिरहेको छ। वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी पनि गरिसकेको छ। तर, चैत १५ को हिंसात्मक प्रदर्शनपछि पार्टी छानबिनको माग गर्दै आएको छ — जसले आन्तरिक मतभेदलाई झनै तीव्र बनाएको छ।
राप्रपा महामन्त्री धवल समशेर राणालाई हिरासतमुक्त गर्ने तयारी भन्ने समाचार सामाजिक संजालमा शुक्रबार प्रकाशित भएपनि सो प्रक्रिया अघि नबढेको प्रहरीले जनाएको छ । गृह मन्त्रालय वा अन्य कुनै निकायबाट उनलाई हिरासतमुक्त गर्नु भन्ने आदेश शुक्रबार बेलुकीसम्म पनि पनि प्रहरीले पाएको छैन । जिल्ला प्रहरी, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले त्यस्तो कुरा कुरा अहिलेसम्म कतैबाट नआएको बताए । ‘हामीलाई भन्नुपर्ने सरकारी वकिलको कार्यालयबाट हो, केही कुरा आएको छैन’, उनले भने ।
चैत १५ को तीनकुने आन्दोलनपछि पक्राउ परेका महामन्त्री राणालाई स्वास्थ्योपचारका निम्ति हिरासतमुक्त गरिने गृह मन्त्रालयस्रोतले जनाएको थियो । उनलाई मन्त्रालयस्तरीय निर्णयबाट छोड्न लागिएको स्रोतले बताएको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार म्याद थपेर हिरासतमा राखिएका कुनै पनि थुनुवालाई कुनै निर्देशन वा आदेशको आधारमा यत्तिकै छोडिदिने कानुनी सुविधा आफूहरुसँग नभएको बताए । तर शुक्रबार बेलुकीसम्म उनलाई छोड्ने कुनै सुरसार नभएपछि अब आइतबारसम्म केही नहुने प्रहरीले निष्कर्ष निकालेको छ । राप्रपाको धम्कीले सरकारले कतै उन्मुक्ति दिन त खोजेको होइन् ? सो विषयमा समेत सर्वसाधारणले प्रश्न चिह्न खडा गर्न थालेका छन् । तर राप्रपाको अराजकतावादी शैलीका बारेमा सरकारले पहिल्यै नै निर्देशन जारी गरिसकेको छ । राजावादी आन्दोलनका नाममा हिंशात्मक आन्दोलन, मानवीय तथा भौतिक क्षेती भएमा आन्दोलनको मुल आयोजक टिम नै जिम्मेवारी हुुनुपर्ने ।




