काठमाडौँ।दुई सातादेखि जारी शिक्षक आन्दोलन समाधानतर्फ जाने संकेत देखिएको बेला सभामुख देवराज घिमिरेको पछिल्लो अभिव्यक्तिले आन्दोलनरत शिक्षकहरूलाई थप निराश बनाएको छ।
सरकारले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शिक्षकहरूको माग सम्बोधनका लागि शिक्षा विधेयक संसदमा प्रस्तुत गरिने र आउँदो अधिवेशनबाट पारित गरिने आश्वासन दिएको थियो। शिक्षामन्त्री विद्या भट्टराईले संसद अधिवेशनसमेत छिटो बोलाइएको जानकारी दिँदै शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरेकी थिइन्।
तर, सोही दिन सभामुख घिमिरेले बजेट अधिवेशनको कार्यसूची ब्यस्त रहने भन्दै अन्य विधेयक पारित गर्न कठिन हुने अभिव्यक्ति दिएपछि शिक्षकहरू झन् सशंकित भएका छन्। “१५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र पारित गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले अन्य विधेयकको सम्भावना न्यून छ,” घिमिरेको भनाइ छ।
उनको उक्त भनाइले सरकारको आश्वासनमाथि विश्वास राख्न गाह्रो भएको भन्दै शिक्षक महासंघले आन्दोलनलाई अझ व्यापक बनाउने तयारी थालेको छ। महासंघले ‘निर्णायक आन्दोलन’ भन्दै थप शिक्षकहरूलाई काठमाडौं बोलाएको छ।




