
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ। एमाले नेता डा. राजन भट्टराईका अनुसार दुई नेताबीच करिब एक घण्टा लामो छलफल भएको हो।
भेटवार्तामा सरकारलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको बताइएको छ। साथै, दुवै नेता राष्ट्रिय हितमा एक ढिक्का भएर अघि बढ्ने सहमति भएको जनाइएको छ।
हालै, विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्षसँगै नयाँ सरकार गठनको सम्भावना रहेको दाबी गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले देउवासँग परामर्श गरेका हुन्।
आजै कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको काम कारबाहीप्रति कडा आलोचना गर्दै वर्तमान सरकारको गति र प्रस्तुतीकरणमाथि गम्भीर प्रश्न उठाएका छन्।