राजनीति

पूर्वराजाको सन्देशप्रति एमालेको कडा प्रतिक्रिया : “लुटपाटलाई जागरण भन्नु आपत्तिजनक”

काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको शुभकामना सन्देशप्रति तीव्र आपत्ति जनाएको छ। पार्टीले शाहको अभिव्यक्तिमा लोकतान्त्रिक उपलब्धिहरूप्रति असहिष्णुता र राजतन्त्र पुनर्स्थापनाको आकांक्षा देखिएको निष्कर्ष निकालेको छ।

एमाले केन्द्रीय सचिवालयको ४८औं बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गते देशका विभिन्न ठाउँमा भएको हिंसात्मक गतिविधिलाई ‘जनतामा आएको जागरण’ भनेर चित्रण गर्न खोजिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाए।

“पूर्वराजाको सन्देशमा उल्लेख गरिएको जागरण भनेको के हो?” प्रश्न गर्दै ज्ञवालीले भने, “सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंसलाई जनताको चेतनाको उपज भन्नु अत्यन्त आपत्तिजनक छ। यसले उहाँमा अझै पनि राजतन्त्र फर्काउने आशा बाँकी रहेको संकेत गर्छ।”

बैठकले लोकतान्त्रिक गणतन्त्रप्रति कुनै पनि खालको चुनौती स्वीकार्य नहुने स्पष्ट पार्दै यस्ता अभिव्यक्तिहरूले समाजमा भ्रम सिर्जना गर्ने खतरा औँल्याएको छ। ज्ञवालीले लोकतान्त्रिक प्रणालीलाई उल्ट्याउने कुनै पनि प्रयासको एमालेले प्रतिवाद गर्ने बताएका छन्।

एमालेले पूर्वराजालाई अप्रत्यक्ष सन्देश दिँदै भनिएको छ— अब देश संविधानमार्फत अगाडि बढिसकेको छ, अतीतको मोह छोडेर सबैले लोकतान्त्रिक मार्ग अँगाल्नुपर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *